
काठमाडौं : नेपाल र अस्ट्रेलियाबिच द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक अस्ट्रेलियामा सम्पन्न भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र त्यहाँको विदेश मामिला तथा व्यापार विभागबिच बैठक मंगलवार सम्पन्न भएको हो।
बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र अस्ट्रेलियाका तर्फबाट विभागका उपसचिव जस्टिन हेयर्स्टले टोलीको नेतृत्व गरेका थिए। क्यानबेरास्थित नेपाली दूतावासले बैठकमा द्विपक्षीय सम्बन्धको समीक्षा गर्दै थप साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ।
त्यस्तै, शिक्षा, उर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, आप्रवासीसहित जलवायु कार्यका क्षेत्रमा हुने सहकार्यका विषयमा छलफल भएको थियो। यस्तै, प्राकृतिक जोखिम नियन्त्रणको विषयमासमेत छलफल भएको बताइएको छ।
त्यसैगरी, बैठकमा दुवै पक्ष दुई देशबिच उच्चस्तरीय भ्रमणको आदानप्रदान, जनसम्बन्धको विस्तार तथा व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई प्रवर्द्धन गर्ने विषयमा सहमत भएको दूतावासले जनाएको छ।
बैठकमा सचिव पौड्यालले अस्ट्रेलियाको सहकार्यप्रति आभार प्रकट गर्दै नेपाललाई कोभिड-१९ पछिको आर्थिक पुन:उत्थान, अल्पविकसित देशबाट माथि उक्लिन तथा दीगो विकाससम्बन्धी २०३० एजेन्डा प्राप्तिका लागि नेपाललाई सहयोगको प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
यसैगरी, उनले अस्ट्रेलियाली दूतावासलाई काठमाडौंबाटै भिसा उपलब्ध गराउनसमेत आग्रह गरेको क्यानवेरास्थित नेपाली दूतावासले जनाएको छ।
अस्ट्रेलिया जान चाहने नेपालीका लागि नयाँ दिल्लीस्थित अस्ट्रेलियाली उच्च आयुक्तको कार्यालयले भिसा जारी गर्दै आएको छ। काठमाडौंस्थित अस्ट्रेलियन भिसा सेन्टरमा आवेदनसहित सम्पूर्ण प्रक्रिया पूरा गरेपछि भिसा नयाँ दिल्लीबाट जारी हुँदै आएको छ। यसलाई सहज बनाउन अस्ट्रेलियाली पक्षलाई आग्रह गरिएको दूतावासले जनाएको छ।
बैठकअघि नेपाल र अस्ट्रेलियाले जलस्रोत व्यवस्थापनामा साझेदारीका विषयमा एमओयुमा सोमवार मात्र हस्ताक्षर गरेका थिए। सो समझदारी अन्तर्गत अस्ट्रेलियाले नेपालको जलस्रोत व्यवस्थापनका क्षेत्रमा क्षमता अभिवृद्धि तथा प्राविधिक तालिम उपलब्ध गराउने बताइएको छ।
नेपालका तर्फबाट बैठकमा पौड्यालको नेतृत्वमा जल तथा उर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे, अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललगायत सहभागी थिए।
दुई देशबिच द्विपक्षीय संयन्त्र सन् २०१४ को जुलाई १४ मा भएको थियो। संयन्त्रको पहिलो बैठक २०१८ अगस्ट १६ मा काठमाडौंमा भएको थियो। त्यसको चार वर्षपछि दोस्रो बैठक अस्ट्रेलियामा भएको हो।