PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महाभियोग छानबिन समितिमा चोलेन्द्रको बयान : ओलीको प्रशंसा, अन्य नेता र न्यायाधीशमाथि उठाए प्रश्नै प्रश्न



पहिलोपोस्ट

महाभियोग छानबिन समितिमा चोलेन्द्रको बयान : ओलीको प्रशंसा, अन्य नेता र न्यायाधीशमाथि उठाए प्रश्नै प्रश्न

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अहिले आफूमाथि लागेको महाभियोग सामना गरिरहेका छन्। गत वर्ष फागुन १ गते महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि निलम्बनमा परेका जबरा आज आफूमाथि लागेका आरोपहरुको जवाफ दिन सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेका थिए। महाभियोग सिफारिस समितिले बोलाएकै समयमा उनी सिंहदरबार पुगेका थिए। तर, निलम्बन भएको साढे ६ महिनापछि सांसदहरुको प्रश्नको उत्तर दिन पुगेका उनले सहजै उत्तर दिन पाएनन्। ११ बजेका पुगेका उनले बैठक सुरु नभएपछि थप एक घण्टा कुरे। अनि बल्ल सुरु भयो सवाल जवाफ।

जबरामाथि न्यायपालिका जगेर्ना गर्न असक्षम रहेको, अदालतमा विचौलिया र भ्रष्टाचारलाई बढावा दिएको, इजलास बाहिर बोल्दै  न्याय प्रक्रियामा अवरोध सिर्जना गरेको, सरकार प्रमुखसँग मन्त्री पदका लागि ‘बार्गेनिङ’ गरेको लगायत २१ वटा आरोपहरु लागेका छन्। बैठकमा समितिका सदस्यहरुले चोलेन्द्रलाई यिनै आरोपहरुबारे सोधे।

चोलेन्द्रले भने आफूमाथि लागेको महाभियोग प्रक्रियामा नै प्रश्न उठाए। संसदले समयमै महाभियोग किनारा नलगाएको भन्दै आक्रोशित सुनिएका उनले महाभियोग स्वत: निष्कृय भएको दाबी समेत गरे। उनको कथन थियो : नियमवाली अनुसार यो प्रस्ताव अघि बढेन। यति गम्भीर विषयमा किन संविधान नियमावली पालना भएन। म संसदको सम्मानका लागि मात्र आएको हुँ। यो महाभियोगको प्रक्रिया मिलेको छैन।

करिब साढे तीन घण्टा चलेको सवालजवाफमा जबराले नेतादेखि बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ता, कानुन व्यवसायीहरु सबैलाई घेरे आरोपैआरोपमा। मिडियाप्रति पनि जबराले निशाना साधेँ। मुख्यतय उनको तारोमा परे गठबन्धनका नेता।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि महाभियोग लगाउन भूमिका खेलेको बताए। २०७७ साल कात्तिकमा ललिता निवास मुद्दाको फैसलाका क्रममा असहयोग गरेको भन्दै माधवकुमार नेपालले नै महाभियोगको वातावरण सिर्जना गरेको उनले बताए।

‘ठिक गर्नुपर्छ भनेर गठबन्धनमा महाभियोगको वातावरण बनाए,’ उनले भने।

यस्तै, गठबन्धनका नेताहरुले असार २८ गतेको फैसला गराउन प्रस्तावकहरुलाई आश्वासन दिएको उनको आरोप थियो। ‘प्रष्टरुपमा भन्छु न्यायाधीशमाथि प्रस्तावक सदस्यहरुलाई आश्वासन थियो,’ उनले भने।

सर्वोच्च अदालतले गत वर्ष असार २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश दिएको थियो।

'असार २८ को फैसला अघि मैले के गरें र म माथि महाअभियोगको प्रस्ताव आयो ?'जबराको प्रश्न थियो।

जवाफका क्रममा एक प्रसंगमा जबराले नेकपा एमालेका अध्यक्ष ओलीको भने प्रशंसा गरे। नेपालको राजनीतिमा भिजन भएको नेता ओलीमात्र भएको जबराको जिकिर थियो।

ओलीले भने जबरासहित आफूलाई हटाएर परमादेशको सरकार गठन गर्ने न्यायाधीशको विरुद्धमा बोल्दै आएका छन्।

‘कुनैदिन बोल्छु’

६ महिनासम्म चुप लाग्न बाध्य भएका जबरा अहिले आफूविरुद्ध लागेका आरोपहरुबारे उत्तर दिँदैछन्। तर, आजको समिति बैठकमा जबराका उत्तर आरोपको खण्डनमा भन्दा भावनात्मक भएको समितिका सदस्यहरुको राय छ। कांग्रेसका प्रमुख सचेतक मीन विश्वकर्माले जबराले सीमाबाट बाहिर गर जवाफ दिएको बताएका थिए।

‘आफ्नो प्रतिरक्षाका लागि केही कुराहरु सीमाभन्दा बाहिर गएर बोल्नुभयो। न्यायालय भित्रका सबै निर्णय आफूले लिनुपर्ने ठाउँमा अरुको टाउकोमा सबै दोष थुपार्नु नै सीमा बाहिर गएर बोल्नु हो,’ उनले भने।

समिति सदस्यले जबराको जवाफबाटै उनी अयोग्य पुष्टि भएको बताएपछि जबराले भने आफूमात्रै दण्डित नहुने भन्दै भने, 'प्रधानन्यायाधीश मात्र दण्डित हुन्छ? यदी फैसला गलत हो भने कति जना गलत हुन्छ?' उनले असार २८ को फैसलामा आफूमात्र संलग्न भएको भन्दै अन्य न्यायाधीशलाई किन उन्मुक्ति दिएको भन्दै प्रतिप्रश्न गरे।

जबराले आजको बयानका क्रममा आफू प्रश्नभन्दा बाहिर नबहकिएको भन्दै समिति सदस्यहरुमाथिनै आक्रोश पोखे। भने,'म प्रश्न भन्दा बाहिर गएको छैन। मैले मलाई प्रश्न गर्न पाइँदैन भनेको छैन।म कसैको दबाब मान्दिन, त्यति भनेको हुँ।'

आक्रोशित र भावनात्मक सुनिएका जबराले भने उत्तर आरोप केन्द्रित गरेनन्। बरु आफूमाथि लागेको आरोपका विषयमा कुनैदिन सार्वजनिक रुपमा बोल्ने र लेख्ने बताए।

‘ममाथि लागेको आरोपका विषयमा म कुनै दिन लेखौंला,बोलौंला। कानुन र संविधानभन्दा बाहिर गएर काम गरेको छैन,’ जबराले जवाफका क्रममा भने।

जबरा निलम्बित भएपछि कायममुकायम प्रधानन्यायाधीश भएर सर्वोच्च अदालत हाँकीरहेका दीपक कार्कीको पनि उनले आलोचना गरे। कार्कीलाई प्रधानन्यायाधीश बनाउनकै लागि दल र न्यायलयमाबिच गुटबन्दी भएको उनको आरोप थियो।

'मलाई अरु न्यायाधीशले प्रश्न गर्नुभएको छ। म भन्दा पछिको मान्छेलाई प्रधानन्यायाधीश हुने इच्छा होला नी। दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि,' जबराले भने।

त्यसक्रममा उनले प्रतिनिधिसभा विघटनको मुद्दा विचारधिन रहेको बेला पूर्वप्रधानन्यायाधीशहरु आफूविरुद्ध लागेको भन्दै आलोचना समेत गरे।

यसका साथै जबराले नेपाल बार एशोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि ‘बार्गेनिङ’ गरेको आरोप लगाए। बेञ्च बहिष्कार गर्ने अभियानको नेतृत्व गरेका श्रेष्ठमाथि उनले न्यायाधीश बन्न 'बार्ग्रेनिङ' गरेको दाबी गरेका हुन्। श्रेष्ठले उच्च अदालतको न्यायाधीशका लागि बार्गेनिङ गरेको जबराको आरोप छ। यस्तै, बारका तत्कालीन महासचिव लिलामणि पौडेलले पनि न्यायाधीश बन्न ‘बार्गेनिङ’ गरेको जबराको आरोप छ। उनले सर्वोच्च बारका हालका अध्यक्ष पूर्णमान शाक्यको पनि मुद्दासँग स्वार्थ रहेको बताएका छन्।

सर्वोच्च अदालतका बहालवाला न्यायाधीश हरिकृष्ण कार्कीमाथि पनि जबराले प्रश्न उठाएका छन्। कार्की केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भएका थिए। कार्कीले त्यसैको रवाफ देखाउने गरेको जबराको आरोप थियो।

'उहाँले ओलीको महान्यायधिवक्त हु भन्नुहुन्छ। उहाँलाई मन परेका मुद्दा हेर्नुहुन्छ। प्रतिनिधिसभा विघटन सम्बन्धिको मुद्दामा दुईजना न्यायाधीशलाई बेञ्च छाड्न बाध्य बनाइयो,' जबराले भने।

आज जबरासँगको बयान नसकिएपछि समितिले उनलाई भोलि बिहान ११ बजे फेरि बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell