
काठमाडौं : निर्वाचन नजिकिए पनि सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो अझै लगाउन सकेको छैन। बुधवार बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा यसबारे गहन छलफल भएको बताइए पनि निष्कर्ष भने निस्केन।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। बैठक बिहीवार बिहान ११ बजे बस्दैछ।
यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए। सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ।
प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि गठबन्धनले टिकटको विषय मिलाउन साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले त्यसयता पटकपटक बैठक बसे पनि बाँडफाँटको टुंगो लगाउन सकेन। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रहेको कार्यदलले ठोस सुझाव पेश गर्न नसकेपछि हात उठाएको थियो।
कांग्रेसले बढी सिट माग्दा निर्वाचनपछि जसपा वा अन्य साना दलसँग मिलेर सरकार बनाउन नमिल्ने गरी सिट दाबी गर्ने तयारी माओवादीको छ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा लचकताका साथ सिट बाँडफाँट गर्ने तयारीमा रहे पनि संस्थापनइतरले १०० सिट बिना कांग्रेस तालमेलमा जान नहुने बताइहरेको छ। गठबन्धन गरेर निर्वाचनमा जाँदै गर्दा कांग्रेसमा नेता व्यवस्थापन गर्न मुश्किल सकस भइरहेको छ। जसका कारण पनि गठबन्धनमा टिकट बाँडफाँट धकेलिँदै गएको नेताहरु बताउँछन्।