काठमाडौं : ट्राफिक प्रहरीले मोटरसाइकल तथा स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन थालेको छ। कानुन बमोजिम निर्माण भइसकेका मोटरसाइकल र स्कुटरमा कुनै वस्तु थप्नु वा हटाउनु मोडिफिकेसन भएको भन्दै ट्राफिक प्रहरीले हटाउन सुरु गरेको छ।
पछिल्लो समय राडड सेयरिङ सेवा दिइरहेका अधिकांश सवारी चालकहरुले सहजता हुने भन्दै मोबाइल स्ट्यान्ड मोटरसाइकल र स्कुटरमा जोडेसँगै ट्राफिक प्रहरीले हटाउन थालेको छ।
ट्राफिक प्रहरीले पठाओलगायतका राइड सेयरिङ कम्पनीहरुलाई सूचना जारी गर्दै मोबाइल स्ट्यान्ड हटाउन आग्रह गरेको छ। तर, राइड सेयरिङ कम्पनीहरुले भने आफ्ना राइडरहरुलाई गुगल म्याप हेर्न असजिलो हुने भन्दै निर्णय सच्याउन आग्रह गरेका छन्।
‘प्रहरीको आदेश बमोजिम हामीले उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौं। तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्न कठिनाइ भएको भन्दै गुनासो आइरहेको छ। सुझाव र गुनासोलाई सम्बन्धित निकायले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछौं,' पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातद्वारा जारी विज्ञप्तीमा भनिएको छ।