PahiloPost

Apr 29, 2026 | १६ बैशाख २०८३

पाकिस्तानमा बाढीको कहर : बन्यो १०० किलोमिटर लामो ताल



पहिलोपोस्ट

पाकिस्तानमा बाढीको कहर : बन्यो १०० किलोमिटर लामो ताल
तस्विर : नासा

बाढीका कारण अस्तव्यस्त बनेको पाकिस्तानको सिन्ध प्रान्तमा १०० किलोमिटर लामो ताल बनेको छ। बाढीका कारण पाकिस्तानको ३३ प्रतिशत भाग अहिले डुबानमा छ।

मध्य जुन महिनाबाट सुरु भएको बाढीको कहरका कारण पाकिस्तानमा हालसम्म १ हजार १६२ जनाको मृत्यु भइसकेको छ। यस्तै, ३ करोड ३० लाख भन्दा बढी मानिस प्रभावित हुँदा ३ हजार भन्दा बढी मानिस घाइते भएका छन्।

नासाको मोडिज् स्याटलाइट सेनसरले लिएको तस्विरमा इन्डस नदीको बहाव बढ्दा सिन्ध प्रान्तमा ६२ माइल लामो ताल नै बनेको हो। बाढीले डुबानमा परेको अधिकांश क्षेत्र खेतीयोग्य जमिन रहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

सिन्ध र बलोचिन्तान प्रान्तमा औसत् भन्दा ५०० प्रतिशत बढी वर्षा भएको छ। यस वर्षको बाढीलाई सन् २०१० को विनाशकारी बाढीसँग तुलना गरिएको छ। पाकिस्तानको इतिहासमा सबैभन्दा विनाशकारी उक्त बाढीका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो।

यस प्रकोपबाट पुगेको क्षतिको पुनर्निर्माणको लागि बढ्दो लागतको बारेमा पनि चिन्ता बढ्दै गएको छ। जसको लागि पाकिस्तान सरकारले सहायता एजेन्सीहरू, मित्र राष्ट्रहरू र अन्तर्राष्ट्रिय दाताहरूसँग आर्थिक सहयोगको लागि अपील गरेको छ।

बाढीले ठूलठूला घरहरु बगाएको छ। यस्तै, अर्बौंको क्षति भएको छ। पाकिस्तान सरकारले यो बाढीलाई जलवायु परिवर्तनको उपज भनेको छ। संयुक्त राष्ट्रसंघले पनि बाढीलाई जलवायु परिवर्तनकै कारण भएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell