
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रात्रीकालिन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएको बताएका छन्। काठमाडौं, भक्तपुर, पाटन र किर्तीपुरका सम्पदा क्षेत्रमा रात्रीकालिन पदयात्रा सुरु गर्नेबारे उनले सरोकारवालाहरुसँग छलफल समेत गरिरहेका छन्।
श्रेष्ठले रात्रीकालिन सम्पदायात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्विने विश्वास व्यक्त गरे। रात्रीकालिन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए। रात्रीकालिन सम्पदायात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुर्नजीवन पाउने उनको विश्वास छ।
पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तीको व्यवस्था, सुरक्षाव्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय संचालनको तयारी पुरा गरी रात्रीकालिन सम्पदायात्रा संचालन गरिनेछ। ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुङ्गेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ।
दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउनरात्रीकालिन सम्पदायात्रा संचालन गर्न लागिएको हो। रात्रीकालिन सम्पदायात्राले स्थानीयबासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ।