
काठमाडौं : निरन्तर वर्षातसँगै ठाउँ-ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड आज दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ। सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ-ठाउँमा साना पहिरो खसेका छन्।
भरतपुर डिभिजन सडक कार्यालयका इञ्जीनियर सागर कार्कीका अनुसार मौरीपुलबाहेकका पहिरो पन्छाइसकिएको छ। मौरीपुलमा दुई लोडर, दुई व्याकलोडर र एउटा एक्साभेटरले काम गरिरहेको छ। सो ठाउँमा ६० मिटर सडक पहिराले ढाकिएकामा आठ मिटर चौडा र पाँच मिटर अग्लो पहिरो पन्छाउने काम भइरहेको छ। अठार किलोमा २० मिटर लामो ११ मिटर चौडा र एक दशमलव पाँच मिटर सडक पहिरोले ढाकेको थियो।
आज बिहान ५:५० बजेदेखि सडक अवरुद्ध भएका कारण धेरै सवारीसाधन जाममा परेका छन्। वर्षातको समयमा बारम्बार पहिरो खस्दा यो सडक हुँदै यात्रा गर्ने यात्रुले दुःख पाउने गरेका छन्। सडक खुलेपछि पनि राति अबेरसम्म सवारी साधन जाम हुने गर्दछ।