PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राष्ट्रियसभामा शून्य समय : डेङ्गु रोकथामदेखि डल्फिन संरक्षित क्षेत्रको उठ्यो मुद्दा



पहिलोपोस्ट

राष्ट्रियसभामा शून्य समय : डेङ्गु रोकथामदेखि डल्फिन संरक्षित क्षेत्रको उठ्यो मुद्दा

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सुरेश आले मगरले काठमाडौं उपत्यकामा समेत दैनिक डेङ्गु सङ्क्रमण बढ्दो देखिएकाले तत्काल रोकथामको कार्य अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरिन्।

बैठकमा सांसद उदयबहादुर बोहराले राप्ती राजमार्ग अवस्था कमजोर भएको उल्लेख गर्दै तुलसीपुर-कपुरकोट सडकखण्ड कन्तबिजोग बनेको बताए। सांसद उर्मिला अर्यालले रासायनिक मल अझै राम्ररी आपूर्ति हुन नसक्दा र सिँचाइको अभावका कारण मधेसका किसान चिन्तित रहेको बताइन्।

यस्तै, सांसद तुलप्रसाद विश्वकर्माले भेटेरेनरी चिकित्सकबाहेकका अन्य भेटेरेनरी सेवामा लागेका जनशक्तिलाई समेट्ने भएकाले पशु स्वास्थ्य तथा पशु सेवा विधेयकलाई छिटो पारित गर्न आग्रह गरे। सांसद नारायणदत्त मिश्रले मलखादको अभाव हुन नदिन सरकारसँग आग्रह गरे। सांसद भुवनबहादुर सुनारले गाउँ-गाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ अघि बढेको सहकारी पछिल्लो समयमा बदनाम हुँदै गएकामा चिन्ता व्यक्त गरे।

सांसद मदनकुमारी शाहले कैलालीका पथैया, मोहना कान्द्र काँडा र कर्णाली नदीलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिन् भने सांसद मोहम्मद खालिदले गत वर्ष सुक्खा मौसमका कारण पीडित किसानका लागि सरकारले घोषणा गरेको राहत सिरहाका किसानले अझै नपाएको गुनासो गरे। सांसद राजेन्द्रलक्ष्मी गैरेले आगामी निर्वाचनमा महिलालाई उचित प्रतिनिधित्व दिन दलहरूसँग आग्रह गरिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell