PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी



विधुर ढकाल

‘लौरो अभियान’का स्वतन्त्र कि ‘हाम्रो नेपाली पार्टी’का उम्मेदवार? निर्वाचन आयोगमा दर्ता छ लौरो चुनाव चिह्न भएको पार्टी
फोटो : Satya Twayna

काठमाडौं : बिहीवार स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ। बिहीवार सुमन सायमीको नेतृत्वमा अभियान घोषणा गर्दै उम्मेदवारी घोषणा गरिएको हो। उनीहरुले आगामी निर्वाचनमा चुनाव चिह्न ‘लौरो’ लिएर प्रतिस्पर्धा गर्ने भन्दै प्रचार गरिरहेका छन्।

घोषणा गरिए अनुसार काठमाडौं-५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं-८ मा सुमन सायमी र काठमाडौं-९ मा विद्या श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। स्थानीय तहको निर्वाचनमा सुमन सायमी र विद्या श्रेष्ठ काठमाडौं महानगरको मेयर र उपमेयरमा ‘आँखिझ्याल’ चुनाव चिह्न लिएर लडेका थिए।

त्यस्तै, भक्तपुर-२ मा दरोस्तभ लोकेन्द्र, कास्की-२ मा सिरीष गुरुङ, रौतहट-१ मा राहुल मिश्र, रुपन्देही-५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ यो अभियानले।

स्थानीय तहको चुनावमा काठमाडौं महानगर र धरान उपमहानगरपालिकामा ‘लौरो’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र शाह र हर्क साम्पाङले जित हात पारेका थिए। यो अभियान अहिले प्रतिनिधिसभा तथा प्रदेशसभामा स्वतन्त्र सरकार निर्माणको नारासहित अगाडि सर्न खोजिरहेको छ।

‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ नाम दिएर उम्मेदवार घोषणा गर्दा चुनाव चिह्न लौरो राखिएको छ।

आयोगमा ‘लौरो’ अर्कै पार्टीको नाममा

निर्वाचन आयोगमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीका लागि ७६ वटा दलबाट ६८ वटा निवेदन दर्ता भएका छन्।

त्यस्तै, प्रदेश १ बाट ६३ दलबाट ५५ वटा, मधेश प्रदेशमा ६७ दलबाट ५९, वाग्मतीमा ६६ दलबाट ५८, गण्डकीमा ६० दलबाट ५२, लुम्विनीमा ६२ दलबाट ५४, कर्णालीमा ५७ वटा दलबाट ४९, र सुदुरपश्चिम प्रदेशमा ५८ दलबाट ५० वटा निवेदन दर्ता भएका छन्। यही आधारमा समानुपातिक तर्फको निर्वाचन मतपत्रमा मत चिह्न हुनेछ।

निर्वाचन आयोगले ‘लौरो’ चुनाव चिह्न हाम्रो नेपाली पार्टीलाई दिएको छ। निर्वाचन आयोगको निर्णय अनुसार भदौ ९ गते राजपत्रमा हाम्रो नेपाली पार्टी दर्ताको सूचना प्रकाशित भएको छ। अनन्तराज घिमिरे अध्यक्ष रहेको यो पार्टीलाई आयोगले असार २९ गतेको निर्णयबाट दल दर्ता गराएको थियो।

त्यस्तै, मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि यो पार्टीले छैठौँ नम्बरमा दल दर्ता गराएको छ।

‘स्वतन्त्र उम्मेदवार’लाई टिकट हाम्रो नेपाली पार्टीको

‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरिए पनि यो अभियान निर्वाचनमा आयोगमा लौरो चुनाव चिह्नसहित दर्ता भएको हाम्रो नेपाली पार्टीका उम्मेदवार हुनेछन्। हाम्रो नेपाली पार्टीले नै लौरो अभियानका उम्मेदवारलाई टिकट दिनेछन्। टिकटमा घिमिरेकै हस्ताक्षर रहनेछ।

‘हामीले लौरो चुनाव चिह्न रिजर्भ गर्नका लागि नै पार्टी दर्ता गराएका हौँ’, निर्वाचन आयोगमा यो पार्टी निर्वाचन आयोगमा पार्टी प्रतिनिधिको रुपमा रहेका डिल्लिश्वर कार्कीले भने, ‘पहिले एमालेको सूर्य चुनाव चिह्न लिएर हृदयश त्रिपाठीहरुले स्वतन्त्र रुपमा जिते जस्तै हो यो। सबै स्वतन्त्र हुन्। एउटै चुनाव चिह्न रिजर्भ गर्नका लागि दल दर्ता भएको हो।’

आफू अभियान घोषणा कार्यक्रममै सहभागी भएको भन्दै उनले पार्टीको अध्यक्षमा दल दर्ता गर्ने बेलामा घिमिरेको नाम राखे पनि अभियानको नेतृत्व भने सुमन सायमीले गर्ने उनले स्पष्ट पारे।

‘स्वतन्त्र रुपमा निर्वाचन लड्दा उम्मेदवारी दर्तापछि चुनाव चिह्नसहित प्रचार गर्न थोरै समय हुने र स्वतन्त्र उम्मेदवारले फरक-फरक चुनाव चिह्न पाउने हुँदा अभियान एकीकृत नहुने देखियो’, कार्कीले भने, ‘त्यसैले हामीले पहिले नै सल्लाह गरेर चुनाव चिह्न रिर्जभ गर्नका लागि दल दर्ता गरेका हौँ। चुनावपछि यो दलको आधिकारिक घोषणा हुन पनि सक्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell