PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

सिन्धु कांग्रेसको उम्मेदवार सिफारिस : क्षेत्र १ बाट मोहन बस्नेत सर्वसम्मत, क्षेत्र २ मा ६ जनाको आवेदन, प्रदेशमा पत्रकारदेखि पूर्वमन्त्रीको लर्को



पहिलोपोस्ट

सिन्धु कांग्रेसको उम्मेदवार सिफारिस : क्षेत्र १ बाट मोहन बस्नेत सर्वसम्मत,  क्षेत्र २ मा ६ जनाको आवेदन, प्रदेशमा पत्रकारदेखि पूर्वमन्त्रीको लर्को

  • फूलमान तामाङ-

सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार सिफारिस गरेको छ। बुधवार अबेर सकिएको क्षेत्रीय समितिको बैठकले २ वटा प्रतिनिधि सभा क्षेत्र यस जिल्लामा उम्मेदवारहरु सिफारिस गरेको हो।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत सर्वसम्मत चयन भएका छन्। यस क्षेत्रमा प्रदेशसम्म बस्नेतले एकलौटी आफू पक्षका नेताहरुलाई सिफारिसमा नाम पारेका छन्। यस क्षेत्रबाट समानुपातिकतर्फ सिद्धिबज्र लामा, भोजराज श्रेष्ठ र तारा शाक्य उम्मेदवारका लागि सिफारिस भएका छन्। बस्नेतले महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल, नेविसंघका पूर्व महामन्त्री बलदेव तिमल्सेना, कांग्रेस जिल्ला सभापतिका प्रत्यासी प्रेमध्वज लामाको नाम यो सिफारिसमा समेटेनन्।

यता क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि ६ जनाको आवेदन परेको छ। सिन्धुपाल्चोक क्षेत्र २ कार्यसमितिले आवेदन दिएका ६ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको मेलम्ची नगरपालिकाका मेयरसमेत रहेका क्षेत्रीय सभापति आइतमान तामाङले बताए।

क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ आवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य विष्णुविक्रम थापाको नाम पहिलो स्थानमा छ। थापा पूर्वमन्त्री हुन्। दोस्रो नम्बर राजु गोर्खालीको नाम छ। उनी महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि हुन्।

तेस्रो नम्बर इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ रहेका छन् भने चौथो नम्बर शिव सुनार रहेका छन्। सनार पूर्व उपसभापति हुन् उनी महाधिवेशन प्रतिनिधि पनि हुन्। पाचौं नम्बरमा कांग्रेस सिन्धुपाल्चोकका पूर्वसचिव बिलबहादुर तामाङ र छैटौं नम्बर अनुप न्यौपाने रहेका छन्।

त्यस्तै क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति विकाश लामा, सानुमाया हिमालय र जिमि लामाको नाम रहेको छ।

प्रदेशमा को - को?

निर्वाचन क्षेत्र १ को प्रदेश क मा प्रत्यक्षतर्फ ११ जनो नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा पर्नेहरुमा भोला बोहरा, विष्णुबहादुर खत्री, साङ्बो शेर्पा, गंगाबहादुर श्रेष्ठ, मसिना खड्का भण्डारी, दोर्जे लामा, देवीबहादुर बुढाथोकी, भीमप्रसाद पौडेल, वेदबहादुर श्रेष्ठ, कमल श्रेष्ठ र चित्रबहादुर बस्नेत रहेका छन्।

समानुपातिकतर्फ भने यस प्रदेशमा हरिशरण श्रेष्ठ र लिलाकुमारी नेपालको नाम सिफारिसमा परेको छ। हरिशरण वाग्मती कांग्रेसका सहमहामन्त्रीसमेत हुन्।

यता निर्वाचन क्षेत्र १ को प्रदेश ख मा प्रत्यक्षतर्फ ९ जनाको नाम सिफारिसमा परेको छ। यसरी नाम सिफारिसमा परेकामा देवेन्द्र खड्का, राजेन्द्र कुमार श्रेष्ठ, जंगबहादुर लामा, केदार क्षेत्री, श्रवण जिसी, सगुन श्रेष्ठ, रुपकाजी लामा, रामकुमार तामाङ, शर्मिता घिमिरे खड्का रहेका छन्। जंगबहादुर लामा कांग्रेस जिल्ला सभापतिसमेत हुन् भने केदार क्षेत्री गत फागुनमा एमालेबाट कांग्रेसमा प्रवेश गरेका नेता हुन्।

यस प्रदेशमा समानुपातिकमा ९ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेहरुमा दुर्गाराज गिरी, रामकुमार थापा, उमेश प्रधान, रामबहादुर लामा, ङिमाजाङ्बो शेर्पा, चित्र मिजार, मञ्जु नेपाल भण्डारी र रोशनी श्रेष्ठ रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क को लागि प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा टंक कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भुपेन्द्र थापा र उद्धव बानियाँ रहेका छन्। कार्की कांग्रेसका जिल्ला उपसभापति हुन् भने विकास २०७४ सालमा यही प्रदेश सभामा प्रत्यासी रहेका थिए। विकासलाई कांग्रेस केन्द्रीय सदस्य डा शशांक कोइरालाको विश्वासपात्रका रुपमा लिइन्छ।

यसैगरी यो प्रदेशमा समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस गरिएको छ। यसरी सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रिता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दंगाल र कमलरत्न दनुवार रहेका छन्।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख को लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ। यस प्रदेशमा कृष्णकुमार तामाङ (समीर) को नाम पहिलो नम्बरमा रहेको छ। यसैगरी यसरी नाम सिफारिस हुनेमा पासाङ दोङ, विष्णु खड्का, मधुसूदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा रहेका छन्। खड्का पत्रकार हुन् भने निमा लामा यस प्रदेशमा गत निर्वाचनमा वाम गठबन्धनको क्लिन स्विप रोकेका नेता हुन्। हाल उनी वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री रहेका छन्। लामाको नाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सिफारिस हुनेसमेत बताइएको छ।

यस प्रदेशबाट समानुपातिकतर्फ बाट भने १६ जनाको नाम सिफारिस भएको छ। यसरी नाम सिफारिस भएकाहरुमा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नारायण गिरी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell