PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सर्वसम्मत, यसपटक कतिको ढुक्क छन् उनी?



पी बी खड्का

सुर्खेत क्षेत्र नम्बर १ बाट पूर्णबहादुर खड्काको नाम सर्वसम्मत, यसपटक कतिको ढुक्क छन् उनी?

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। सुर्खेत क्षेत्र नम्बर १ कांग्रेसको क्षेत्रीय समितिले खड्कालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो।

अघिल्लो निर्वाचन ०७४ मा खड्का सोही क्षेत्रबाट एमालेसँग पराजित बनेका थिए। एमालेका धुर्वकुमार शाहीले ३६ हजार ७५९ मत ल्याउँदा खड्काले ३३ हजार ३७७ मत पाएका थिए। त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन थियो।

नेपाली कांग्रेसका उपसभापति खड्का जिल्लादेखि केन्द्रसम्म लोकप्रिय नेताका रुपमा देखिन्छन्। क्षेत्र नम्बर १ उपसभापति खड्काको बलियो जनाधार भएको निर्वाचन क्षेत्र पनि हो। त्यतिमात्रै नभएर गठबन्धन भए पनि उपसभापति खड्काबाहेक अरुले उम्मेदवारी पाउने अवस्था देखिँदैन।

उक्त निर्वाचन क्षेत्र तीन वटा नगरपालिका, दुई गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको दुई वटा वडासमेत खड्काको निर्वाचन क्षेत्रभित्र पर्दछ। जुन कांग्रेसको गढ भएको क्षेत्र हो। जसले गर्दा पनि उपसभापति खड्कालाई निर्वाचन जित्न सहज हुने अनुमान छ।

यता, नेकपा एमालेले यसक्षेत्रमा उपसभापति खड्कासँग भिड्न सक्ने उम्मेदवारको खोजी गरेको छ। ०७४ मा भिडेका प्रतिनिधिसभा सदस्य धुर्वकुमार शाही र प्रदेशसभा सदस्य खड्क खत्रीको नाम खड्काको प्रतिद्वन्द्वीको रुपमा चर्चामा छ। एमालेले पुरानै अनुहार दोहोर्‍याउँछ या नयाँ अनुहार ल्याउँछ अहिले नै यसै भन्न सकिने अवस्था छैन।

गत वैशाखको स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको छ। एमालेको मत हेर्दा ३४ हजार आठ सय ४३ मत प्राप्त गरेर दोस्रो स्थानमा छ।

माओवादी केन्द्रले पाँच हजार ७५ मत प्राप्त गरेकोमा नेकपा एकीकृत समाजवादीले ६ सय ३४ मत प्राप्त गरेको छ। राप्रपाले ६ सय ६४ मत प्राप्त गरेको थियो। यसरी स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा दलहरु एक्ला एक्लै चुनावी मैदानमा उत्रिएपनि कांग्रेस पहिलो शक्ति बन्न सक्ने देखिन्छ भने, माओवादी, समाजवादीसँग चुनावी तालमेल भए उपसभापति खड्काको जित सुनिश्चित जस्तै बन्ने देखिन्छ।

सुर्खेत १ मा यी हुन् सिफारिस उम्मेदवार

सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा कांग्रेस उपसभापति खड्का सर्वसम्मत सिफारिस भएका छन् भने, समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस भएको छ। त्यस्तै, प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (क) बाट प्रत्यक्षमा खड्कबहादुर पोखरेल, केशर वली, चित्रबहादुर रेग्मी र टेकबहादुर सिंहको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने अनन्तप्रसाद उपाध्याय पौडेल, खिमानन्त ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंगाली र सुशिला कार्कीको नाम सिफारिस गरिएको छ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर १ प्रदेश (ख) मा प्रत्यक्षतर्फ अमृता शाहीको नाम सिफरिस गरिएको छ। उनी हाल प्रदेशसभा सदस्य समेत हुन्। त्यस्तै, भुपेन्द्र चन्द, भुपेन्द्रबहादुर सुवेदी, मानबहादुर बुढा मगर, हरिप्रसाद शर्मा र लक्ष्मीदत्त पौडेलको नाम पनि सिफारिस गरिएको छ। समानुपातिकतर्फ खगीसरा आचार्य, झकबहादुर डाँगी, रेणु आचार्य, लिलमति विक, प्रेमबहादुर विक, टोपबहादुर टङ्लामी मगरको नाम सिफारिस भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell