बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा कांग्रेसबाट संघीय संसदकी उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस भएको छ।
क्षेत्रीय समितिले उपसभामुख भुसालसहित कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाइ सिफारिस गरेको क्षेत्रीय सचिव सुरज रायमाझीले जानकारी दिए।
एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा २०७४ सालको निर्वाचनमा कांग्रेसबाट बिसी उम्मेदवार थिए। तर, उनी वाम गठबन्धनका टोपबहादुर रायमाझीसँग पराजित भएका थिए। रायमाझीले ५० हजार ३८३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी बिसीले ३१ हजार ९४१ मत पाएका थिए। बिसी २०७० सालको निर्वाचनमा पनि रायमाझीसँगै पराजित भएका थिए।
अर्घाखाँचीमा रायमाझी लगातार निर्वाचित हुँदै आएका छन्। २०६४ र ०७० मा दुई पटक माओवादीबाट र ०७४ मा वाम गठबन्धनमा एमाले र राष्ट्रिय जनमोर्चासँग मिलेर लगातार तीन पटक निर्वाचित भएका छन्।
नेकपा विभाजनपछि पुष्पकमल दाहाल (प्रचण्ड)लाई छाडेर केपी शर्मा ओलीतिर लागेका रायमाझी चौथो पटक आगामी निर्वाचनमा एमालेबाट चुनाव लड्दैछन्। गठबन्धनका कारण रायमाझीलाई आगामी चुनाव चुनौतीपूर्ण छ।
उपसभामुखसमेत रहेकी भुसाल केन्द्रीय स्तरमा प्रभावशाली नेता हुन्। भने, भुसाल ०४८ र ०५१ मा दुई पटक चुनाव जितेर पर्यटन राज्यमन्त्री समेत भएका थिए। श्रेष्ठ नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन्।
त्यस्तै प्रदेश सहमहामन्त्री युवा नेता खनाल यसअघि जिल्ला सभापति थिए। पोखरेल छत्रदेव गाउँपालिकाका निर्वतमान अध्यक्ष हुन्। यता माओवादीबाट केन्द्रीय सचिव डिलाराम आचार्यको नाम चर्चामा छ। उनी २०७४ को निर्वाचनमा रुपेन्देही ५ मा भरत साहसँग पराजित भएका थिए। गठबन्धनमा माओवादीले अर्घाखाँचीको टिकट पाएमा साह उम्मेदवार हुने चर्चा छ। गठबन्धनको भागबन्डामा कसले टिकट पाउने भन्ने टुंगो भने अझै लाग्न सकेको छैन।