
काठमाडौं : हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेकोले मौसममा फेरबदल भइरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।
शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।
राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महशाखाले जनायो।