काठमाडौं : मंसिर ४ मा निर्वाचनपछि गठबन्धनमा प्रधानमन्त्रीको उम्मेदवार को हुने? अहिले धेरैको चासोको विषय बनेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसक्दा पाँच दलीय गठबन्धन भने यसबारे मौन रहँदै आएको छ।
यसै विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सञ्चारकर्मीले प्रश्न गरेका छन्। कार्यक्रमका सिलसिलामा शुक्रवार सुर्खेत पुगेका उनलाई विमानस्थलमा सञ्चारकर्मीले प्रश्न गरे - अब तपाई राष्ट्रपति, देउवा प्रधानमन्त्री हुने सहमति भएको हो?
जवाफमा प्रचण्डले यो सही नभएको बताए। 'यो सही हैन निराधार हो,' सुर्खेत विमानस्थलमा प्रचण्डले भने।
प्रचण्डले संसद विघटनजस्ता विषयमा एमालेले आफ्नो धारणा प्रष्ट नराखेसम्म चुनावी तालमेलको आधार बन्नै नसक्ने बताए। त्यसैगरी उनले कर्णालीमा माओवादीको सरकार बन्ने गरी पार्टीको तयारी अघि बढाएकोसमेत दाबी गरे।
सिट बाँडबाँटबारे पनि अन्तिम विन्दुमा पुगिसकेको उनको भनाई रह्यो। 'सिट बाँडफाँटबारे संख्या सहमतिको नजिक पुगिसकेका छौ,' प्रचण्डले भने, 'भोलि दिनभर बसेर टुंग्याउने भनेर हामी हिजो उठेका हौं।'
सिट संख्यामात्र नभएर कुन प्रतिनिधि सभा र कुन प्रदेश सभा कसलाई भनी एकैसाथ टुंग्याउने गरी छलफल अघि बढेकोले समय बढी लागेको उनको भनाई थियो। 'संख्यामात्र हैन, कुन कुन क्षेत्र र प्रदेश कसले पाउने भन्ने पनि एकै चोटि टुङ्ग्याउने गरी छलफल अघि बढेको छ,' प्रचण्डले भने। आफू प्रतिनिधि सभाको निर्वाचनमा चितवनकै क्षेत्र नम्बर ३ बाटै लड्ने उनले बताए।