
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको निमित्त भदौ २१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरि केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको छ।
यसैगरि बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई दृष्टिगत राखी निर्वाचन पूर्व तयारीका सन्दर्भमा समेत विभिन्न निर्णयहरु गरेको छ। महामन्त्री सुशील श्रेष्ठले प्रस्तुत गरेको मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा कार्यक्रमलाई समेत बैठकले पास गरेको छ। कार्यक्रमअनुसार मेचीको काकडभिट्टाबाट भदौ ३० गते विहिबार सुरु हुने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा महाकालीको वनवासामा पुगी काठमाडौं आएर यात्राको समापन हुनेछ।
यसैगरि विभिन्न समान विचारधारा भएका राजनीतिक दल, समुह तथा व्यक्तिहरुसँग आवश्यक छलफल ,परामर्श र बार्ता गर्ने जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं राजनीतिक विभाग प्रमुख दिलनाथ गिरीलाई दिने निर्णय भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्।
बैठकमा महामन्त्री भास्कर भद्राद्वारा प्रत्यक्ष र समानुपातिक उम्मेद्वारी, महामन्त्री केशवराज श्रेष्ठद्वारा सञ्चार, प्रवक्ता सुरेश आचार्यद्वारा प्रचारप्रसार र सहमहामन्त्री दमन बस्नेतद्वारा स्रोत परिचालन सम्बन्धी कार्य प्रगति विवरणबारे समेत महत्त्वपूर्ण छलफल भएको बर्तौलाले जानकारी दिए।