PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै



राधेश्याम पटेल

पर्साको एक सरकारी विद्यालय : जहाँ न त शिक्षक पर्याप्त छन् न त भवन र चर्पी नै

वीरगंज : पर्साको जगरनाथपुर गाउँपालिकामा वडा १ मा एउटा यस्तो स्कुल छ जहाँ भवन व्यवस्थित हुन नसक्दा छात्रछात्राहरुसँगै शिक्षकहरु पनि खुला शौच गर्न बाध्य छन्। बिसुनपूर्वामा रहेको नेराप्रावि विद्यालयमा निर्माण गरिएको चर्पी जीर्ण भएपछि अहिले यस्तो अवस्था आएको हो।

दिसा–पिसाब लाग्दा विद्यालयनजिकै रहेको चमरी खोलामा जानुपर्ने बाध्यता रहेको शिक्षकहरुले बताएका छन्। कक्षा ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अर्को समस्या हो पर्याप्त शिक्षक नहुनु। सय घरधुरी रहेको गाउँमा २०४५ मा उक्त विद्यालयको स्थापना गरिएको हो।

अहिले हाजिरीमा १६७ जना विद्यार्थीको नाम रहे तापनि दैनिक रुपमा ५५–६० जना विद्यार्थीहरु उपस्थित हुन्छन्। पाँच वटा कक्षाकोठा भएको उक्त विद्यालयको तीनवटा कक्षाकोठा भवन जीर्ण भएको छ भने दुईवटा कोठामा मात्र पठनपाठन हुन्छ। एउटा कोठामा एक देखि कक्षा तीनसम्मका विद्यार्थीहरुलाई पढाइन्छ भने अर्को कोठामा विद्यालय, कार्यालयसँगसँगै कक्षा चार र पाँचका विद्यार्थीहरु पढ्ने गरेको प्रधानाध्यापक सञ्जयकुमार श्रीवास्तव बताउँछन्।

एकजना बाल विकास सहजकर्ता र प्रअ श्रीवास्तवको भरमा उक्त विद्यालय विगत दुई वर्षदेखि सञ्चालन भइरहेको उनले बताए। दुई वर्षअघि बाल विकाससहित चारजना शिक्षक रहेकोमा शिक्षक सेवा आयोगबाट दुईजनाको नाम निस्किएर अन्य विद्यालयमा सरुवा भएर गएपछि अहिले सो विद्यालयमा भौतिक पूर्वाधारसँगै शिक्षकको अभाव देखिएको हो। जगरनाथपुर गापाको शिक्षा शाखालाई पटक–पटक विद्यालयको समस्याबारे जानकारी गराउँदा पनि कुनै सुनवाई नभएको अभिभावकहरुको गुनासो छ। विद्यालयमा प्रयाप्त सुविधा नहुदाँ विद्यार्थीको संख्या दिनप्रतिनिदिन घट्दै गएको समाजिक अभियन्ता वृजेश्वर चौधरी बताउँछन्।

यता, गापाले चालू आवको लागि गापाभित्र सञ्चालित तीसवटा सरकारी विद्यालयको भौतिक संरचना, पूर्वाधार, शिक्षक नियुक्ति लगायतको शीर्षकमा करिब तीन करोड बजेट छुट्याएको गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यदावले जनाए। उनले दुई महिनापछि गाउँपालिकाभरका विद्यालयहरुको स्तरोन्नति तथा प्रभावकारी शिक्षण सिकाइ गर्न वातावरण बनाउनको लागि आफू मातहतको एकाइ तथा बैठकमा प्रअलाई निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell