PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तीन वर्षयता बागलुङमा बर्सेनि देखिँदै छ डेंगी,  सचेत रहन आग्रह



रासस

तीन वर्षयता बागलुङमा बर्सेनि देखिँदै छ डेंगी,  सचेत रहन आग्रह
फाइल फोटो।

बलेवा : तीन वर्षदेखि लगातार बागलुङमा डेंगीका बिरामी भेटिन थालेका छन्। विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ। धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेंगीको संक्रमण पुष्टि भइरहेको छ।

उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेंगी परीक्षण गर्दा पुष्टि भएको उनले बताए। दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेंगी देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो।

यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताए। लामखुट्टेको टोकाइबाट सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ।

डेंगीविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो। रगत जाँचपछि मात्र डेंगी पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले बताए।

एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उनले जानकारी दिए।

‘धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेंगीको लक्षण हुन्’, डा पोखरेलले भने, ‘सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ।’

बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उनले सुझाव दिए।

गाडी बनाउने ग्यारेज, पानी जम्ने पोखरीलगायत सफा राख्न र घर-घरमा पनि खुला ड्रममा पानी नराख्न आग्रह गरिएको बागलुङ नगर स्वास्थ्य कार्यालय प्रमुख रामप्रसाद खनालले बताए। खनालका अनुसार सफा पानीमा लामखुट्टेले फुल पार्ने र डेंगी लामखुट्टेकै टोकाइबाट सर्छ।

‘एकपटक संक्रमण भएपछि दोहोरिने दर बढी भएकाले पहिल्यै सचेत बन्नुपर्छ,’ उनले भने।

वर्षातको बेला देखिने अन्य धेरै प्रकारका रोगको पनि संक्रमण बढेको छ। अस्पतालमा दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी उपचार र स्वास्थ्य परीक्षण गर्न आउन थालेका छन्। अस्पतालको भीडले पनि वर्षातजन्य रोग बढेको देखिएको डा पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell