
हेटौँडा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली काङ्ग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख)ले प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको छ।
काङ्ग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि एक मात्र उम्मेदवार सिफारिस भएकी छिन्। समानुपातिकतर्फ भने हालका वाग्मती प्रदेश सदस्य एवं प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाको नाम पहिलो नम्बरमा सिफारिस भएको छ।
त्यस्तै, समानुपातिकतर्फको दोस्रो नम्बरमा उमा दाहालको नाम राखिएको छ। प्रदेश तर्फ २ नम्बर क्षेत्रको ‘ख’का लागि काङ्ग्रेस वाग्मती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, शंकर न्यौपाने र ईश्वर पाठक सिफारिस भएका छन्।
प्रदेशको समानुपातिकतर्फ भने १९ जनाको नाम सिफारिस भएको छ। प्रदेशको समानुपातिकतर्फ जानकी लामा तामाङ र जानुकी लामाको नाम पहिलो र दोस्रो नम्बरमा रहेको काङ्ग्रेस क्षेत्रीय सभापति रन्जन कालाखेतीले जानकारी दिए।