PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

‘बिर्सिएको युग’ सम्झाउने दीर्घमान र गणेशमान चित्रकारका तस्विरहरु

‘बिर्सिएको युग’ सम्झाउने दीर्घमान र गणेशमान चित्रकारका तस्विरहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : १९९० साल अघिसम्म वसन्तपुर क्षेत्रमा अहिलेजस्तो खुला डबली थिएन। त्यहाँ श्रीखण्ड तरमुल महाबिहार अन्तर्गतका संरचना थिए।

पाँचवटा कचा बहा:हरु थिए। चैत्य थियो। मन्दिर थियो। इनार पनि थियो। १९९० सालको भूकम्पपछि त्यहाँ रहेका घरहरु केही भत्किए, केही चर्किए। राणा शासकले भूकम्पले भत्किएका संरचना बनाउनुको सट्टा उक्त स्थानलाई खुल्ला छाड्ने निधो गरे।

त्यहाँ बसोवास गर्दै आइरहेकालाई अन्यत्र सारियो। र, आधा भागमा बगैंचा र आधामा मैदान बनाइयो। त्यही मैदानमा घोडा राख्ना तबेला बनाइयो।

२०३१ सालमा वीरेन्द्रको राज्यभिषेकको अवसरलाई लक्षित गर्दै सोही क्षेत्रलाई पूर्ण रुपमा खुल्ला गरि डबली बनाइएको हो। पछिल्लो समय उक्त वसन्तपुर डबली सांस्कृतिक, व्यापारिक केन्द्र बन्यो। साथै बन्यो युवाहरुको ‘जक्सन’।

अझै पनि बहा: का संरचना त्यहाँ भेटिन्छन्। कुमारी घर नजिकै इनार अझै छ। झ्वछेँ जाने बाटोतिरबाट अझै डबलीमा चैत्यहरु देख्‍न सकिन्छ। दुईवटा कचा बहा:का अवशेष अझै डबलीमा भेटिन्छ। तर, कमैलाई मात्रै थाहा छ अहिले खुल्ला डबलीको इतिहास।

यस्तै, हाल गद्दी बैठक रहेको स्थानमा पहिला मल्ल राजाहरुको दरबार थियो। पछि राणाहरुले त्यहाँ बेलायती शैलीको नियो क्लासिकल दरबार गद्दी बैठक बनाउन लगाए। जसको बारेमा स्थानीयहरु कथा सुनाउँछन्। तर उनीहरुसँग त्यो प्रमाणित गर्ने कुनै आधार थिएन।

अहिले भने त्यहाँ रहेको दरबारको तस्विर सार्वजनिक भएको छ। बिहीवार दरबारमार्गस्थित लाल दरबारमा ‘नेपाल रिमेम्बर्ड’ नामक किताबमा विमोचनाक क्रममा सो तस्विर प्रदर्शन गरिएको छ। जसमा हाल खुला डबली रहेको क्षेत्रमा भूकम्पले क्षतिग्रस्त घर र बहा: देख्न सकिन्छ भने गद्दी बैठक रहेको स्थानमा दरबार देख्न सकिन्छ।

नेपालमा पहिलो पटक क्यामरा चलाउने परिवार चित्रकारहरुको हो। तिनै मध्ये दिर्घमान चित्रकार र गणेशमान चित्रकारले ‘लार्ज फर्म्याट’ क्यामरासहित अन्य पुराना क्यमराबाट खिचेका तस्विरहरु किताबमा राखिएका छन्। यस्तै, भदौ २१ गतेसम्म केही ‘सेलेक्टेड तस्विरहरु’ याक एन्ट यती होटलको ग्यालरीमा प्रदर्शन गरिँदैछ।

लार्ज फर्म्याट क्यामरा र त्यसबेला प्रयोग गरिने ब्याकड्रप


दीर्घमान चित्रकारलाई राणा प्रधानमन्त्री चन्द्र शमशेरले ‘कोर्ट पेन्टर’का रुपमा नियुक्त गरेका थिए। सन् १८०० को दशकतिर नेपालमा क्यामरा भित्रिँदा दीर्घमानलाई तस्विर खिच्ने जिम्मा राणाहरुले दिएका थिए। राणा प्रधानमन्त्री बेलायत र फ्रान्समा जाँदा दीर्घमान पनि सँगै गएको छ। सन् १९४५ सम्म उनी दरबारमा नै कोर्ट पेन्टर र फोटोग्राफरका रुपमा कार्यरत थिए। उनले खिचेका नेपाल र राणाहरुको तस्विर अहिले इतिहासको साक्षी बनेको छ।

यस्तै, गणेशमान चित्रकारले पनि युएसएडसँग काम गर्दै नेपालको विभिन्न क्षेत्रमा भएको विकास र पर्यावरणको तस्विर खिचेका थिए। दीर्घमान र गणेशमानले खिचेका त्यहीबेलाका तस्विरहरु संग्रह गरिएको फोटो बुक प्रकाशित गरिएको हो।

लिसा चोगेलले सम्पादन गरेको सो तस्विर किताबमा क्रिस्टिना चित्रकार, मार्क वाटसन र डेभिड एन ग्लेन्नरले लेखन गरेका छन्। ‘चित्रकार लिगेसी’का निर्देशक रहेकी क्रिस्टिनाले ५ हजार तस्विर मध्ये छानेर किताब प्रकाशन गरेको बताइन्। क्रिस्टिनाले बुवा किरण चित्रकार र भाइ स्वराज मान चित्रकारसँग मिलेर तस्विरहरु छानेका हुन्।

किताबलाई चार भागमा विभाजित गरिएको छ। जसमा चित्रकार परिवार, सांस्कृति र सम्पदा क्षेत्र, राणा परिवारको तस्विर र सामान्य जनजीवन झल्कने समेटिएको छ।

‘बिर्सिएको युग’ लाई सम्झन र बुझ्न यो किताबले सहयोग गर्ने क्रिस्टिनाले बताइन्।

किरण चित्रकारले भने आफूहरुसँग तस्विर र चित्रहरु धेरै ‘आर्काइभ’ रहेको भन्दै त्यसको संरक्षणमा सरकारले सहयोग गर्नुपर्ने बताए। नेपालमा ‘एन्टिक सामाग्री’को मूल्य धेरैले नबुझेको भन्दै उनले त्यसको अभाव पूर्ति गर्न सबै मिलेर प्रयास गर्नुपर्ने बताए।

हाल निजीरुपमा आफ्नो पुर्खाले खिचेका तस्विर र चित्रहरुको रेखदेख गर्दै आएका किरणले भने, ‘एक्लैले कहिलेसम्म सक्छु र? सरकारबाट केही हुनुपर्छ। ग्यालेरी बनाएर राख्न सकिन्छ अनि जोगाउन सक्छु। धरै आर्काइभ र एन्टिक  वस्तुहरु छन्,’ उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell