PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

‘त्रिभुवन विश्वविद्यालय बन्द गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीले मुलुक कसरी संचालन गरिरहेका छन्?’



पहिलोपोस्ट

‘त्रिभुवन विश्वविद्यालय बन्द गरेर प्रधानमन्त्री र शिक्षामन्त्रीले मुलुक कसरी संचालन गरिरहेका छन्?’

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरिरहेको छ। तालाबन्दी लम्बिँदै जाँदा विश्वविद्यालय परिसरमा विपक्षी दलका भातृ संगठनसँग नेविसंघको झडप समेत हुँदै आएको छ। जसकारण विश्वविद्यालयको प्रशासन संचालनदेखि पढाइसम्ममा असर पुगेको छ।

आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरुले त्रिभुवन विश्वविद्यालयमा भइरहेको अस्तव्यस्तताको बारेमा प्रश्न उठाएका छन्।नेकपा एमालेका सांसद पदम गिरीले वर्तमान गठबन्धन सरकार बनेदेखि नै त्रिभुवन विश्वविद्यालय बन्द प्रायः अवस्थामा रहेको बताएका हुन्।

‘बन्दकर्ता गठबन्धन सरकार नजिक रहेको नेपाल विद्यार्थी संघ हो दुनियाँ जगजायर छ। बन्दकर्ताले विश्वविद्यालय बन्द राख्दै गर्दा कुनै विद्यार्थीको हितको लागि गरेको छैन, विश्वविद्यालयका हित निम्ति भएको छैन,’ उनले भने।

प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने समूह नै अहिले विश्वविद्यालय बन्द गर्नेहरु रहेको भन्दै उनले उपकुलपति कार्यालयमा तोडफोड हुँदा प्रहरी प्रशासन मुकदर्शक बनेको आरोप लगाए। 

उनले भने, ‘त्यहीँका प्राध्यापक प्रेम चलाउनेलाई सांघातिक आक्रमण गरेर मरासन्न अवस्थामा पुर्‍याएपछि अदालतले ति आक्रमणकारीहरुलाई धरौटीमा घर पठाइदिन्छ र त्यो धरौटी विश्वविद्यालयले तिर्नुपर्छ भनेर त्यस्ता खालका माग राखेर विश्वविद्यालय बन्द गरिएको छ। भदौ ८ गते विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा गएर नेविसंघले तोडफोड गरेको छ। टेबलमा जुत्ता राखेको हुन्छ, त्यहाँ पुलिस मुकदर्शक भएर हेर्छ। यस्तो दुरावस्था विश्वविद्यालयको छ सभामुख महोदय।’

नेविसंघको तोडफोडका कारण भदौ १० गतेका लागि तय त्रिविको कार्यकारी परिषदको बैठक विश्वविद्यालयमा आयोजना गर्न सम्भव नभएपछि जमलस्थित  होटल प्यागोडामा आयोजना गरिएको थियो। प्यागोडा होटलमै नेविसंघका कार्यकर्ता पुगेर विश्वविद्यालयका सम्पूर्ण कागजात पत्रहरु खोसेको उनले आरोप लगाए।

‘ति कागपत्रहरु शिक्षामन्त्रीज्यूले बुझ्नुभएको भन्ने सुनिएको छ। शिक्षा मन्त्रालय त्यस्तो कागजपत्र बुझ्ने निकाय हो कि होइन? उसको जिम्मेवारी हो कि होइन? यसबारे ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले प्रश्न गरे। 

नेविसंघ अपराधजन्य काममा लागेको भन्दै त्यसमा संलग्न व्यक्तिहरुलाई निरुत्साहित पार्न मुद्दा दर्ता गर्न विश्वविद्यालयका पदाधिकारीहरु प्रहरीकहाँ जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको उनले आरोप लगाए।

 भने, ‘सम्पूर्ण विश्वविद्यालयका पदाधिकारीहरु असुरक्षित बनेका छन्। फोन अफ गरेका छन्। घरमा सुत्न नसक्ने अवस्था भयो डरले। छिमेकीको घरमा गएर सुत्न पर्ने अवस्था आएको छ।’

एमालेका सांसदहरुले यस विषयमा बारम्बार ध्यानाकर्षण गराएपछि सभामुखले १३ गते सरकारका नाममा रुलिङ गरेको स्मरण गराउँदै सांसद गिरीले सरकारका प्रमुख प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र शिक्षामन्त्रीले आजसम्म विश्वविद्यालय खुलाउनतर्फ नलागेको बताए।

उनले भने, ‘सुरक्षा दिनुपर्ने निकायका गृहमन्त्रीज्यू आज त्यहीँ प्रहरी प्रशासन बसेर नेविसंघले लगाएको ताला घेरेर बसेको छ। सुरक्षा गरिरहेको छ। तर त्रिविका पदाधिकारीहरुलाई आउनसक्ने अवस्था छैन।’

विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरु प्रधानमन्त्री र शिक्षामन्त्रीहरुले विश्वविद्यालय बन्द बनाएर यो मुलुक कसरी सञ्चालन गर्न खोजिएको हो भन्दै उनले प्रश्न समेत गरे।

‘यो देशलाई कहाँ पुर्‍याउन खोज्नुभएको हो? सभामुखको रुलिङको पालना गर्न नसक्ने वर्तमान सरकार अत्यन्तै लाचार। सदनको ध्यानाकर्षण होस्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell