PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बुटवलको प्रगतिनगरमा स्मृति पार्कको शिलान्याश : वीपी, पुष्पलाल र सूर्य प्रधानको शालिक रहने



पहिलोपोस्ट

बुटवलको प्रगतिनगरमा स्मृति पार्कको शिलान्याश : वीपी, पुष्पलाल र सूर्य प्रधानको शालिक रहने

बुटवल : बुटवल उपमहानगरपालिकाको प्रगतिनगरमा स्मृति पार्क निर्माण हुने भएको छ। बुटवल  उपमहानगरले वडा नम्बर ११ प्रगतिनगरमा नेपाली काङ्ग्रेसका संस्थापक स्व वीपी कोइराला, कम्युनिस्ट पार्टीका संस्थापक स्व पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्व नगरप्रमुख स्व सूर्यप्रसाद प्रधानको स्मृतिमा पार्क निर्माण गर्न लागेको हो।

आफू निर्वाचित भएर पदस्थापन गरेको एक सय दिन पूरा भएको अवसरमा शुक्रवार एक कार्यक्रमका बिच नगरप्रमुख खेलराज पाण्डेयले पार्कको शिलान्याश गरेका छन्। १७ कठ्ठा १४ धुरमा बन्ने पार्कमा स्व कोइराला, श्रेष्ठ र  प्रधानको शालिक रहने र पार्कलाई सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगर प्रमुख पाण्डेयले बताए।

‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौँ भन्ने भावना जागृत गराउनका लागि पनि यो पार्कले देशभर सन्देश दिनेछ’, उनले भने ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मदत गर्नेछ।’

नगरप्रमुख पाण्डेयले अव्यवस्थित बसोबासी रहेको क्षेत्रनजिक बन्ने पार्कले स्थानीयलाई समेत अपनत्वको भावना जगाउने र स्थानीयले पार्कको संरक्षण गर्नुपर्नेमा जोड दिए।

‘यहाँका बासिन्दाले आफूलाई हेपिएको महसुस गर्नुपर्ने छैन, यहाँ सुन्दर पार्क बनेपछि यो नै बुटवलको रमणीय केन्द्र बन्नेछ, यहाँको महत्व बढ्नेछ भन्ने हामीलाई विश्वास छ’, उनले भने ‘यहाँको सार्वजनिक जग्गा संरक्षण हुँदा यहाँका बासिन्दालाई लाभ हुनेछ, विपदमा खुला स्थान आवश्यक पर्दा यो पार्क उपयोगी हुनेछ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि समेत उपयोगी हुने गरी र्पाक निर्माण हुने र यसले स्थानीयलाई लाभ पुग्ने बताए। गत जेठ २५ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि शालिक सहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell