PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

पाल्पाका दुई निर्वाचन क्षेत्रमा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस



पहिलोपोस्ट

पाल्पाका दुई निर्वाचन क्षेत्रमा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा नेपाली काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभातर्फ २ वटा र प्रदेशसभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा उम्मेदवार बन्न आकांक्षीको लर्को लागेको छ। क्षेत्रीय समितिले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार जना र क्षेत्र २ बाट तीन जनाको नाम सिफारिस गरेको छ।

क्षेत्रीय सभापति झमनराज मगरका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि दानबहादुर पछाई, ज्ञानबहादुर गाहा, सन्दीप राना र कल्प पौडेलको नाम सिफारिस भएको छ। त्यस्तै, क्षेत्र नम्बर २ बाट वीरबहादुर राना, हरिप्रसाद नेपाल र डा चिरञ्जीवी नेपालको नाम सिफारिस भएको छ।

पार्टीको विधानबमोजिम उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस हुनुपर्ने व्यवस्था छ। तर, पाल्पाका दुवै निर्वाचन क्षेत्रमा महिलाको नाम सिफारिस भएको छैन।

यस्तै, समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट विष्णुमाया ढकाल, सन्दीप राना, विजय घिमिरेको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट विधान श्रेष्ठ, लाल कुमारी राना, राजन प्रसाद पन्त, महेश्वरी कुँवर, सीता नेपाल, शोभा शाक्य र जमिला मिँयाको नाम सिफारिस भएको छ।

२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ पाल्पाका दुवै क्षेत्रमा नेकपा (एमाले)ले जितेको थियो। क्षेत्र नम्बर १ बाट दलबहादुर राना र क्षेत्र नम्बर २ मा एमालेकै सोमप्रसाद पाण्डेय विजयी भएका थिए। पाण्डेय अहिले नेकपा (एकीकृत समाजवादी)मा छन्।

२०७४ मा क्षेत्र नम्बर १ मा एमालेका रानाले ३२ हजार ५४९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिसपर्धी काङ्ग्रेसका विजय घिमिरेले २३ हजार ९९३ मत पाएका थिए।

क्षेत्र नम्बर २ मा पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर बिजयी हुँदा उनका प्रतिसपर्धी काङ्ग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५४ मत पाएका थिए।

पाँच दलीय गठबन्धन भएकाले काङ्ग्रेसमा सिफारिसमा परे पनि कुन क्षेत्र कुन पार्टीले पाउने भन्ने टुंगो लागेको छैन। एकीकृत समाजवादीले क्षेत्र २ मा दाबी गरेको छ। यहाँबाट पाण्डेय पुनः चुनाबमा लड्ने तयारीमा जुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell