काठमाडौं : राप्रपा नेपालले आसन्न निर्वाचनका लागि आर्थिक संकलन गर्ने भएको छ। आज काठमाडौंमा बसेको स्रोत परिचालन समितिको बैठकले अर्थ संकलनको निमित्त १० हजार गुणा ५ हजार अभियान कार्यान्वयन गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको बैठकले यो अभियान अन्तर्गत पाँच हजार सहयोगीहरु प्रत्येकबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको स्रोत परिचालन समितिका प्रमुख एवं पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए।
यसैगरी, पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुबाट सहयोग प्राप्त गर्ने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गर्ने, त्यसको निम्ति ई-सेवा,फोनपे र बैंक ट्रान्सफर जस्ता माध्यमबाट पार्टीको बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्ने समेत निर्णय भएको बस्नेतले जानकारी दिए।
बैठकमा पार्टीका पदाधिकारीसहित समितिका सदस्यहरुको उपस्थिति रहेको थियो। बैठकले एक अपिल सार्वजिक गर्ने समेत निर्णय गरेको छ।