PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा



पहिलोपोस्ट

जन्मदिनमा साहित्यकार सिर्जना शर्माद्वारा किशोर आख्यान पुरस्कार घोषणा

ललितपुर : साहित्यकार एवं बाल वाङ्मय तथा अनुसन्धान केन्द्रकी सल्लाहकार सिर्जना शर्माले आफ्नो जन्मदिनको अवसरमा किशोर साहित्य पुरस्कार घोषणा गरेकी छन्। साहित्य तथा सञ्चार क्षेत्रमा सक्रिय रहेकी शर्माले आफ्नो ६७ औं जन्मदिनको अवसरमा सानेपास्थित आफ्नै निवासमा पुरस्कार घोषणा गरेकी हुन्।

बुवा जयदेव भट्ट र आमा हीरादेवी भट्टको सम्झनामा किशोर साहित्यमा कलम चलाउने सर्जकका लागि पुरस्कार घोषणा गरिएको शर्माले बताइन्। पुरस्कारका लागि केन्द्रले 'जय-हीरा बालवाङमय किशोर आख्यान पुरस्कार कोष' स्थापना गरिएको छ। उक्त कोषका लागि शर्माले केन्द्रकी कोषाध्यक्ष शान्ति सापकोटालाई एक लाख ५० हजार रकमको चेक प्रदान गरेकी छिन्।

कोष स्थापनापछि शर्माले आफू केन्द्रमा संलग्न हुनुको कारण र पुरस्कार स्थापनाको कारण खुलाइन्। केन्द्रमा विनय कसजुदेखि विभिन्न बौद्धिक व्यक्तिको संलग्नता देखेर आफू संस्थामा आवद्ध भएको र विद्यालयमा बाल साहित्य कार्यक्रमले आफूलाई आकर्षण गरेको शर्माले बताइन्। कसजु केन्द्रका संस्थापक अध्यक्ष हुन्। 'विद्यालयमा बालसाहित्य कार्यक्रम एकदम राम्रो लाग्यो। यसले साहित्यमा अघि बढ्न अभिप्रेरित गर्‍यो। अहिले पनि यहाँ बस्न पाएकोमा एकदम खुसी लाग्छ,' शर्माले भनिन्।

पुरस्कारले एक किसिमको उत्साह प्रदान गर्ने भएकोले आफूले यसमा जोड दिएको उनको भनाई थियो। 'पुरस्कार पितामाताको नाममा राखेको छु। बुवा सर्वोच्च अदालतको न्यायाधीश हुनुहुन्थ्यो। मिहिनेत गरे मान्छेको प्रगति हुन्छ भन्नुहुन्थ्यो। हामीलाई एकदम राम्रो गर्नुभयो पितामाताले। मैले कलेजमा हुँदा पुरस्कार पाइरहन्थे,' शर्माले भनिन्, 'पुरस्कार पाउँदा एकदम उत्साह हुन्थ्यो। कलेजमा पुरस्कार पाएपछि घरमा पनि सय दुई सय पुरस्कार पाइन्थ्यो। यसै कारण र पितामाताको सद्भावको लागि पुरस्कार स्थापना गरेकी हुँ।' किशोर साहित्य लेखनलाई प्रोत्साहनका लागि कोष स्थापना गरिएको साहित्यकार शर्माको भनाई थियो।

नेपाली बालवाङ्मयको क्षेत्रमा शर्माले पुर्‍याएको योगदान अतुलनीय रहेको केन्द्रका अध्यक्ष प्रमोद प्रधानले बताए। 'रेडियो कार्यक्रमबाट अघि पत्रकारितादेखि साहित्यमा बढ्नुभएको शर्माले केन्द्रलाई अभिभावकत्व प्रदान गर्नुका साथै सक्रिय रहन जोड दिँदै आउनुभएको छ,' अध्यक्ष प्रधानले भने, 'बुवा र आमाको नाममा पुरस्कार स्थापना भएको छ। यसका लागि उहाँलाई धेरै धेरै धन्यवाद।'

कोषको ब्याज बराबरको रकम केन्द्रको वार्षिकोत्सवमा हरेक वर्ष मंसिर १० गते किशोर साहित्यका उत्कृष्ट स्रष्टालाई पुरस्कारस्वरुप प्रदान गरिने केन्द्रका महासचिव अनन्त वाग्लेले जानकारी दिए। कार्यक्रममा केन्द्रका सल्लाहकारहरु नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, रामबाबु सुवेदी,  प्राध्यापक रामकुमार पाँडे, प्राडा चुडामणि बन्धुसहित संस्थाका अध्यक्ष प्रमोद प्रधान, उपाध्यक्ष विजयराज आचार्य, महासचिव वाग्ले, सचिव मन्जु ज्ञवाली, कोषाध्यक्ष शान्ति सापकोटा, सदस्यहरु डा तारानिधि भट्टराई, नेत्र तामाङ, रवीन्द्र मानन्धरलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell