PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आलमलाई किन सिफारिस गरेको भन्दै गगनलाई प्रश्न, सुरुमा हाँसे अनि भने : यस्तो काम हुँदैन



लक्ष्मी बलायर

 आलमलाई किन सिफारिस गरेको भन्दै गगनलाई प्रश्न, सुरुमा हाँसे अनि भने : यस्तो काम हुँदैन

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा शुक्रवार ‘बाआमा’ शीर्षकको आख्यान विमोचन कार्यक्रम थियो। रामलाल जोशीको उक्त पुस्तकको विमोचनपछि डबलीमा साहित्यबारे विमर्श भयो। पुस्तकको समीक्षा गर्न सुरुमा आए लेखक नयनराज पाण्डे।

आफू पुस्तकको आवरणबाट नै आकर्षित भएको बताउँदै उनले प्रजातन्त्रदेखि हालसम्मको कालखण्डलाई जोडेर परिवारिक सम्बन्धको कुराहरू यसमा समेटिएको बताए। किताबको बारेमा प्रकाश पारेर पाण्डेले फिल्म र साहित्यको बारे पनि कुरा राखे। आफूले पछिल्लो केही समयदेखि लगातार एकैखाले फिल्म हेरेको र पीडा महसुस गरेको बताए।

‘केही समयदेखि लगातार दोख, पानीफोटो, राधा र प्रकाश जस्ता फिल्महरु हेरेँ। यी फिल्महरु हेर्दा एक किसिमको पीडा र बेग्लै संसारमा पुर्‍याउँदो रहेछ। सबै फिल्मको पीडालाई देखेर आँसु पनि बगाइयो,’ उनले 'बाआमा' पनि दु:खकै कथाले भरिएको भन्दै भने। 

दु:ख र पीडाको प्रसंग उनले यहाँ यसै जोडेका भने होइनन्। उनलाई मञ्चमै रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई केही सुनाउनु थियो, त्यसैले साहित्यिक कार्यक्रममा उनले राजनीतिक कुरा जोडे। प्रसङ्ग थियो, हाल कारागारमा सजाय भोगिरहेका मोहम्मद अफताब आलमबारे।

आलमलाई आसन्न निर्वाचनका लागि कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले हालै सर्वसम्मत सिफारिस गरेको छ। आलम भने मानिसहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित नख्खु जेलमा छन। उनैलाई कांग्रेस रौतहट क्षेत्र नम्बर २ ले ढुक्कसँग प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस गरेसँगै आलोचना भइरहेको छ। यसै विषयले आफूलाई दु:ख लागेको भन्दै पाण्डेले मञ्चमै रहेका कांग्रेसका मुख्यमन्त्री गगन थापालाई गुनासो पोखेका हुन्। आलमलाई सिफारिस गरेकोमा उनले आपत्ती जनाउँदै गगनलाई प्रश्नले घेरे।

‘अहिले साहित्यदेखि सिनेमाले दु:ख दिएको छ। समाजमा पनि अहिले दु:ख त छ नि। हिजो मात्रै मैले अर्को दु:खको कुरा सुने। हाम्रो गगन जी आबद्ध पार्टीले आलमलाई चुनावमा लडाउँदैछ छ रे! यो भन्दा ठूलो पीडा के होला र ?, हामीले कुनै न कुनै समय यो पीडालाई पनि लेख्ने छौं,’ उनले भने।

पाण्डेको यो अभिव्यक्तिपछि मञ्च तालीले गुञ्जियो। गगन भने मुसुमुसु हाँसिरहे।    

वक्ताहरुले बोल्ने क्रम जारी रह्यो। अनि पालो आयो गगन थापाको।

सुरुमा उनले किताबबारे प्रकाश पार्दै पुस्तक पढ्दै जाँदा आफ्नै कथा लाग्ने बताए। अनि अन्तिममा आफूलाई आलम सोधिएको प्रश्नबारे उत्तर दिन समेत भ्याए उनी।

पहिला आफूलाई प्रश्न गर्ने नयनमाथि नै गगनले निशाना बनाए। कांगेस आफ्नो मात्र पार्टी नभएको र पहिले पाण्डे कांग्रेसमै आबद्ध रहेको कुरा सम्झाए गगनले। ‘नयन दाइले गगनको पार्टी भन्नुभयो। तर कुनैबेला नयन दाइ आफैँले काम गरेको पार्टी हो कांग्रेस,’ गगनले भने।

त्यसपछि उनी आलमको विषयमा प्रवेश गरे। थापाले आलमलाई उम्मेदवार सिफारिस गरिएकोबारे आलोचना भइरहेको विषयमाथि पार्टीमा गम्भीर रुपमा छलफल गर्ने बताए। आफूहरू नैतिक मूल्य मान्यता विपरित कुनै पनि निर्णय नलिने भन्दै उनले उपस्थित सबैलाई विश्वस्त पार्न खोजे।

‘संविधान र विधानले वर्जित गरेको मात्र होइन। नैतिकताको कसीमा राखेर हेर्दा खेरि छाती ठोकेर यो निर्णय हामीले गरेको हो भनेर भन्न नसकिने कुनै पनि निर्णय म र हाम्रो पार्टीबाट हुँदैन। यति कुरामा म तपाईँलाई आश्वस्त पार्छु,’ थापाले भने।

अन्तिममा बोल्ने पालो ‘बाआमा’ का लेखक रामलाल जोशीको थियो। लेखक जोशीको प्रकाशित ‘बाआमा’ तेस्रो पुस्तक हो। आजको कार्यक्रममा उनी गगनको प्रशंसक बने। यसअघिका दुईवटा पुस्तकहरू पूर्व प्रधानमन्त्रीबाट विमोचन गराएको भन्दै उनले यसपटक 'भावी प्रधानमन्त्री'को हातबाट पुस्तक विमोचन गर्ने मौका पाएको बताए। उनको संकेत गगन थापाप्रति थियो।

‘पहिलो किताब ‘हत्केलामा आकाश’ को विमोचन शेरबहादुर देउवाबाट गराएको थिएँ। त्यतिखेर देउवा पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसपछि दोस्रो कृति ‘ऐना’ बाबुराम भट्टराई र लोकेन्द्र बहादुर चन्दजीलाई राखेर गरे। उहाँहरू पनि पूर्व भइसक्नु भएको थियो,’जोशीले भने, ‘आज एउटा मात्रै कार्यक्रम जो देशको भावी प्रधानमन्त्रीलाई राखेर गर्ने मौका पाएँ। आज मेरा लागि यो कायक्रम विशेष छ। यो मेरो मात्र आवाज होइन। र, मैले उहाँलाई खुसी पार्न भनेको पनि होइन। यो सम्रग नेपालीहरूको आवाज हो।’

यतिमात्रै होइन, उनले गगनलाई कांग्रेसमा प्रदीप गिरिले रित्तो बनाएर गएको कांग्रेसलाई सम्हाल्न अघि आउन समेत भने। ‘गिरीको निधन भएसँगै कांग्रेसमा रिक्तता महसुस भएको छ। त्यो रिक्तता परिपूर्ति गर्ने पात्र गगन थापा हुन्,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell