PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्जानमै यौन अपराध ! किन कम उमेरैमै बढ्न थाले 'केस'?



रिना थापा

अन्जानमै यौन अपराध ! किन कम उमेरैमै बढ्न थाले 'केस'?

  • कास्कीको एक विद्यालयको छात्रावास रहेकी किशोरी गर्भवती भइन्। एसइई दिएर घर फर्किएपछि किशोरी बेलाबेला बिरामी परिरहन्थिन्। परिवारले छोरी बिरामी भइरहेको देखेपछि अस्पतालमा जाँच गराउँदा किशोरी गर्भवती भएको खुल्यो।
  • गत जेठ २२ गते कास्की प्रहरीमा जबरजस्ती करणीको एउटा घटना दर्ता भयो। १६ वर्षकी किशोरीलाई उनकै डेरा छेउ बस्ने १८ वर्षका किशोरले बलात्कार गरेको मुद्दा परिवारले दर्ता गरेको थियो।
  • यस्तै गत वर्षको चैतमा पनि कास्की प्रहरीमा बालक संलग्न बलात्कारको घटना दर्ता भएको थियो। किशोरी सात महिनाको गर्भवती भएपछि मात्र घटना बाहिर आइ उजुरी परेको थियो। पीडक र पीडित दुवै नाबालक थिए यस घटनामा पनि। 
  • गत वर्षको फागुनमा १४ वर्षकी किशोरीलाई १७ वर्षका किशोरले लेकसाइडको एक होटलमा लगि जबरजस्ती करणी गरेको मुद्दा दर्ता भएको थियो।

कास्कीमा आर्थिक वर्ष २०७८/०७९ मा मात्र बालक संलग्न जबरजस्ती करणीको १० घटना दर्ता भएका छन्। प्रहरी कार्यालय कास्कीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भए। यस्तै आव २०७७/०७८ मा ८ वटा मुद्दा दर्ता भए भने आव २०७८/०७९ मा घटना बढेर १० वटा मुद्दा दर्ता भए। कास्की प्रहरीले दिएको तथ्यांकअनुसार पछिल्लो समयभन्दा अहिले बालक संलग्न बलात्कारका घटना बढेको पाइएको छ। जसको कारण बढ्दो प्रविधि प्रयोग र यौन शिक्षाको कमी रहेको मान्छन् विज्ञहरु।

कानुनले १८ वर्षभन्दा कम उमेर समूहमा भएको शारीरिक सम्बन्धलाई बलात्कार ठहर गर्छ। सोही अनुरुप नै १८ वर्षभन्दा कम उमेरका किशोर किशोरी बिच सहमतिमा शारीरिक सम्बन्धमा भए पनि कानुनले त्यसलाई जबरजस्ती करणी मान्छ। जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको त्रिवर्षीय तथ्यांकअनुसार जिल्लामा बालक संलग्न जबरजस्ती करणी गरेको २४ वटा घटना दर्ता छन्।

कहिलेकाहीँ बाहिरिने यस्ता घटनाहरुमा पीडक र पीडित दुवैलाई कानुनी परिणाम र यौन शिक्षाबारे जानकार नभएको बताउँछिन् अधिवक्ता कुन्ञनी परियार प्यासी।

‘थाहा हुँदैन इस्पेसली बच्चाहरु हुन्छन्। दुवैको सहमतिमा भएको हुन्छ। उनीहरुलाई कानुनको बारेमा पनि केही थाहा हुँदैन। अझै यस्ता घटना जातको कुरामा बाबाआमालाई सहमति नभइसकेपछि चाहिँ बल्ल रेपको रुपमा आउँछ,’ उनले भनिन्, ‘पीडित पीडक दुवै माइनर नै हुन्छ। पीडकलाई पनि त्यो लेबलमा सबै थाहा हुँदैन। तर, त्यो कुरा पीडकलाई थाहा छैन भनेर मानिँदैन। त्यो समस्या हो।’

यसले पनि प्रष्ट्याउँछ बालकहरु अन्जानमा नै अपराधको बाटो हिँडिरहेको छन्। जसका लागि विद्यालयदेखि घरमा यस विषयमा सामान्य जानकारी दिनुपर्ने भनाइ राख्छिन् उनी।

यस बाहेक प्रहरी कार्यालयमा यस्ता घटना पनि दर्ता भएका छन् जसमा पीडित आठ वर्षदेखि पाँच वर्षकी बालिका छन् भने पीडक पनि नाबालक। गत वैशाखमा मात्र जिल्ला प्रहरी कार्यालय कास्कीमा १७ वर्षका किशोरले ८ वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको मुद्दा दर्ता भएको थियो। गत वर्षको साउन १ गते दुई बालकले एक बालिकालाई करणी गरेको मुद्दा दर्ता भएको छ। पोखरा महानगरपालिकामा बस्दै आएका उमेर १२ का दुई बालकले पाँच वर्षकी बालिकालाई करणी गरेको मुद्दा कास्की प्रहरीमा दर्ता भएको हो। यस्तै गत वर्षकै असोजमा ११ वर्षका बालकले चार वर्षकी बालिकालाई करणी गरेको मुद्दा कास्की प्रहरीमा दर्ता भएको थियो।

यस्ता घटनामा भने बढ्दो प्रविधि प्रयोग कारण रहेको बताउँछिन् अधिवक्त कुन्ञनी।

कुञ्जनीको भनाइमा सहमत छिन् मनोरोग विशेषज्ञ डा. लिपा वैद्य पनि। बढ्दो प्रविधि प्रयोगले बालक संलग्न बलात्कारको घटना बढ्नु एक कारण रहेको मान्छिन् डा वैद्य।

‘सोसल मिडियामा सर्च गरेर हेरेर केही हदसम्म हुनसक्छ। तर, त्यसैको कारणले मात्र भन्न मिल्दैन,’ उनले भनिन्, ‘त्यस्तो केसहरु पहिला पनि नभएको त होइन। अहिले नोटिस हुने न्युजमा आउने भएर हो। यसको लागि शिक्षा आवश्यक छ।’

पछिल्लो समय प्रविधिको प्रयोगसँगै बच्चाहरुमा परिवारको रेखदेख कम हुँदै गएको छ। समयसँगै परिवर्तित भइरहेको समाजमा बालबालिकालाई यसबारे पनि शिक्षा दिन आवश्यक रहेको बताउँछिन् डा लिपा।

‘यसको लागि एजुकेसन दिने। अर्ली एजमा सम्बन्ध भयो भने के हुन्छ भनेर। यसको कन्सिक्वेन्सेस बारे ज्ञान दिने यो स्कुल र परिवारबाट सर्तक गराउने भयो भने मिनिमाइज गर्न सकिन्छ। साथसाथै मोबाइलहरुको प्रयोगहरु सीमित बनाइदिने भने यस्ता घटना केही हदसम्म मिनिमाइज गर्न सकिन्छ,’ डा. लिपा भन्छिन्। 

 

‘यौन भन्ने बित्तिकै हिंसा जोड्न हुँदैन’

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले विभिन्न गैरसहकारी संस्थासँग मिलेर गरेको अध्ययनले नेपालमा किशोरवस्थामा गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको देखाउँछ। किशोरवस्थामा हुने गर्भवतीको केसहरुले यौन शिक्षाका विषयमा बहस राम्रोसँग नभएको प्रष्ट्याएको बताउँछिन् अनुसन्धानकर्ता डा. समीक्षा कोइराला।

‘टिनेज प्रेग्नेन्सीको केशहरुले प्रष्ट देखाउँछ कि हामीले यो विषयमा बहस त सुरु गर्‍यौं तर बहस पर्याप्त छैन। यौन भन्ने बित्तिकै हिंसासँग जोडेर हेर्ने होइन नि त यो त आधारभूत आवश्यकता हो। वयस्क व्यक्ति भइसकेपछि यो चाहिन्छ,’ उनले भनिन्।

यौन र प्रजनन स्वास्थ्य सम्बन्धका कुरामा अझै बढी चेतना आवश्यक भएको औंल्याउँछिन् उनी। बालबालिकालाई गलत र सहीबारे सतही रुपमा मात्र जानकारी दिँदा यौनिकताको पाटोबारे शिक्षा दिन चुकेको बताउँछिन् डा समिक्षा।

‘हामीले यो गर्न हुन्छ यो गर्न हुँदैन त भन्यौं तर आफू आफैँ सहमतिमा यौन सम्बन्ध भइहाले सुरक्षित तरिकाले गर्न सक्छौं भनेर टिनेज प्रेग्नेन्सी रोक्न सक्थ्यौं,’ उनले थपिन् ,‘तर,यसमा यो यो हिसाबले फरक हुनुपर्यो। सिकाउन पर्यो। उमेरका कुरा सुरक्षित यौन सम्पर्कको कुरा प्रजनन स्वास्थ्य सम्बन्धी कुरामा हाम्रो लबिङ पुग्या छैन।’

यौन बारे समाजमा रहेको संकुचित मानसिकताले पनि यस्ता घटनाको कारण रहेको उनको भनाइ छ। जसले गर्दापनि समयसमयमा यस्ता घटना बाहिर आउने उनी बताउँछिन्।

‘हाम्रो समाजमा अझपनि यो इस्युमा लाज मान्ने डर मान्ने कानेखुशी गर्ने चलन छ नि त त्यसले गर्दा यस्तो इन्सिडेन्ट आइराखेको छ यसमा हामी सर्तक हुन जरुरी छ,’ उनी भन्छिन्, ‘यस्ता कुरा विद्यालयसँगै परिवारमा पनि यस विषयमा छलफल आवश्यक छ।’

उनले शिक्षा प्रणालीलाई पनि औंल्याएकी छिन्। उमेरसँगै बालबालिकालाई आवश्यक पर्ने यौन शिक्षाको विषय पाठ्यक्रममा समावेश नहुने र नपढाउने गरेको उनको गुनासो छ।

‘केही हदसम्म यसबारे कोर्सबुकमा समावेश गरेर राखेपनि त्यही कुरालाई एक्सप्लेन गर्ने शिक्षक छैनन्। हामीले पढ्दा सकेसम्म त्यो च्याप्टरलाई स्किप गर्ने राम्रोसँग नपढाउने हुन्थ्यो,’ उनले भनिन्, ‘टिचरलाई सिकाउ भनेर भएन घरमा पनि बालबालिकालाई उमेर अनुसार यौन शिक्षाको बारेमा यौनिकताको बारेमा पर्याप्त ज्ञान दिनुपर्यो।’

‘आधारभूत ज्ञान पाठ्यक्रममा पर्याप्त समावेश छैन’

नेपालको शिक्षा प्रणाली नै व्यवाहारिक नभएको औंल्याउँछन् शिक्षाविद् डा विद्यानाथ कोइराला।  पाठ्यक्रममा यौन शिक्षाबारे आधारभूत ज्ञान समावेश नगरेको उनको भनाइ छ। पाठ्यक्रमले सबै कुराकानी समावेश नगर्ने भएपनि अन्य आधारभूत शिक्षा बारे शिक्षकको जिम्मेवारी रहेको भनाइ राख्छन् कोइराला। 

‘पाठयक्रमले पाठ्यपुस्तकले सारा कुराकानी गर्दैन किनभने तिनीहरु बाँसी कुराकानी हुन्। बासी कुरालाई साजी कसरी बनाउने भनेको कुकको काम हो त्यो भनेको शिक्षक हो,’ उनले भने, ‘त्यो शिक्षकले विद्यार्थीको रहर करिकुलमको इन्ट्रेष्ट र त्यसपछि गएर यो हाम्रो देशको आवश्यकता जोडेर पढाउने मैले देखेको छैन। सक्यो भने राम्रो हुन्छ सकेन भने बर्बाद हुन्छ।’

पाठ्यक्रममा यसअघि कक्षा ९ र १० मा हेल्थ पपुलेसन एण्ड इन्भारमेन्ट अनिवार्य रुपमा राख्दै आएको थियो। जून पुस्तकमा प्रजनन स्वास्थ्यसम्बन्धी एक शीर्षक समावेश गरेको थियो। यसवर्षबाट उक्त पुस्तक हटाइएको छ। ८ सय पूर्णअंकको पाठ्यक्रमलाई घटाएर सातसयमा झरेको छ। जसबाट हेल्थ एण्ड पपुलेसन विषय हटाइएको हो। यद्यपि ऐच्छिक विषयमा हेल्थ एण्ड पपुलेसनलाई समावेश गरिएको छ।

पोखरा मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बरालका अनुसार यसवर्षदेखि उक्त पुस्तक हटाइएको हो। ऐच्छिक विषयमा भने पपुलेसन एजुकेसन र एजुकेशनल हेल्थ एण्ड फिजिकल विषय राखिएको छ। जून सबै विद्यार्थीका लागि पढ्न अनिवार्य हुँदैन। शिक्षकहरुका अनुसार ऐच्छिक राखिएको स्वास्थ्यको पाठ्यक्रममा पनि पर्याप्त मात्रामा यो विषय समावेश भएको छैन। प्रजनन स्वास्थ्यको शिर्षक हटाएपछि अनिवार्य रहेको सामाजिक पुस्तकमा यसबारेमा एउटा शिर्षक मात्र समावेश गरिएको छ। यसवर्ष कक्षा ९ बाट मात्र हटाइएको अनिवार्य हेल्थ एण्ड पपुलेसन पुस्तक अर्को वर्षदेखि कक्षा १० बाटपनि हटाईँदै छ।

यौन प्रजननबारे पाठ्यपुस्तकमा समावेश भएपनि बालबालिकालाई सतर्क बनाउन पर्याप्त नभएको धारणा राख्छन् प्रिन्सिपल नारायण बराल।

‘यो उमेरमा यस्ता कुरा गलत हुनुसँगै कानुनी रुपमा पनि अक्षम्य हो है भनेर आधारभूत कुराहरु समावेश नभएर पनि यस्ता समस्या आउँछ। बालबालिकामा केही कुराहरु सचेत गराउनु पर्छ,’ उनले भने, ‘जून पाठ्यपुस्तकमा पर्याप्त समावेश छैन। विषय आउँदा शिक्षकको जिम्मेवारी हुन्छ सचेत गराउने सँगै परिवारले पनि यसविषयमा ध्यान दिनुपर्छ।’

पोखराको एक विद्यालयमा कक्षा ९ र १० मा स्वास्थ्य पढाइरहेका शिक्षक आनन्द शर्मा पनि बरालका कुरामा सहमति जनाउँछन्। पाठ्यपुस्तकमा सारा विषयवस्तु समावेश नभएका कारण शिक्षकमा भर पर्ने कुरा रहेको बताउँछन् उनी।

‘पाठ्यक्रममा सबै समावेश गर्दैन पढाउने बेला कुरा आउँछ टिचरवाइज फरक पर्छ। कन्टेन्टमा पढाउ भनेको त छैन। मैले पढाउने बेला चाहिँ ९ र १० मा उमेरसँगै यसपछिको परिणाम र अपनाउनु पर्ने सतर्तकता बारेपनि पढाउँछु,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell