PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

अध्यक्ष मियाँको गाडीमा विमास्थलबाट बाहिरिएका अभियुक्त आलम नक्सालको होटेलबाट समातिए



पहिलोपोस्ट

अध्यक्ष मियाँको गाडीमा विमास्थलबाट बाहिरिएका अभियुक्त आलम नक्सालको होटेलबाट समातिए

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाट फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रवार राति सुनसरी ‌घर भएका ३० वर्षीय रिजवान आलमलाई पक्राउ गरेको हो।

आलमलाई नक्सालस्थित होटल मेरियटबाट नियन्त्रणमा लिइएको कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

विदेशमा उच्चशिक्षाको लागि भन्दै आलमले १ करोड ६८ करोड रुपैयाँ ठगी गरेको प्रकरणमा जिल्ला अदालतल काठमाडौंले गत फागुनमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यस समयदेखि उनी फरार रहेका थिए। शुक्रवार उनी दुवईबाट काठमाडौं ओर्लिएका थिए। राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको निम्तोमा टोली नेपाल आएको थियो। उनी दोभाषेका रुपमा नेपाल आएका थिए। उनीसँगै अन्य ५ जना डेलिगेटहरु नेपाल आएका थिए।

भीआईपी ६ जना व्यक्तिलाई नै विमानबाट हाइसमा हालेर बिहान साढे ९ बजेतिर भीआईपी कक्षमा ल्याइएको  थियो। त्यसपछि विमानस्थको अध्यायगम शाखमा अराइभल भिसाको लागि प्रकृयाका लागि ६ वटा नै पासपोर्ट कलेक्सन गरेर लगियो। जसमध्ये एउटा आलमको भने भिसा लागिएन। अध्यागमनले सम्बन्धित व्यक्तिलाई नै त्यहाँ ल्याउन भन्यो। तर, उनीहरुले भिसा लागेको पाँच वटा पासपोर्ट लगेपछि त्यही स्वागत कार्यक्रम गरे। फोटो खिचे। र, निस्किए।

पछि अनुसन्धान गर्दा आलम प्रहरीको खोजी सूचीमा रहेको व्यक्ति भएको खुलेको थियो। अध्यागमनका कर्मचारीले लामो समयसम्म पनि राहदानीवाला व्यक्ति नआएपछि खोजी गर्दा विमानस्थलबाट निस्किएको जानकारी आयो। अध्यक्ष मियाँले आफ्नो पाहुना भन्दै अभियुक्तलाई विमानस्थलबाट बाहिर ल्याएका हुन्। त्यसपछि उनको खोजीमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोली परिचालन गरिएको थियो। दुई वटा गाडीमा ६ जना विमानस्थलबाट निस्किएका थिए। 

'हाम्रो टोलीलाई पक्राउ गर्नु भन्दै जानकारी आएको थियो। त्यसपछि हामीले पक्राउ गरेर बुझाएका हौं,' एसपी कोइरालाले भने।

टोलीले शुक्रवार करिब राति १० बजेतिर उनीहरु बसेको होटेल मेरियटबाट नियन्त्रणमा लिएको हो। पक्राउ पुर्जी जारी अगाडि नै दुवई पुगेका आलमलाई नियन्त्रणमा लिन प्रहरीले इन्टरपोलको सहायता लिएर पक्राउ प्रक्रिया समेत सुरु गरेको थियो। तर, शुक्रवार विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्दै नेपाल भित्रिएको थाहा पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारी नै दुवईबाट आएको टोलीलाई लिन विमानस्थल पुगेका थिए। उनले नै रिजवानलाई आफ्नै गाडीमा राखेर होटेल पुर्‍याएका थिए। काठमाडौं जिल्ला प्रहरी परिसरले आलम विरुद्द थप अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने छ। समिम मियाँ अन्सारीलाई केपी शर्मा ओ‌ली प्रधानमन्त्री हुँदा आयोगको अध्यक्ष बनाइएको थियो। उनी पटक पटक यस्ता गतिविधिमा जोडिँदै आएकाले उनको नियुक्ति पनि विवादित बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell