PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

भारतमा रोकिराखेको बसलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु



पहिलोपोस्ट

भारतमा रोकिराखेको बसलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नम्बरको यात्रुबाहक बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।

भारतीय प्रहरीका अनुसार डवल डेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका चक्रबहादुर वलीको मृत्यु भएको र एक मृतकको सनाखत हुनसकेको छैन।

उक्त दुर्घटनामा परेका बाँके बैजापुरका ५० वर्षीय रावत, ४० वर्षीय अमरबहादुर, बारबर्दियाकी ३५ वर्षीया रीताकुमारी थारू, दाङका २८ वर्षीय कृष्ण, रुकुमका ४० वर्षीय कालीबहादुर र तनहुँका ४० वर्षीय हरिशरणको अवस्था जटिल रहेकाले उनीहरूलाई लखनउस्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

सल्यान घुइयाबारीका २९ वर्षीय बहादुर राना, पद्मा राना, बाँके बिनौनाका १७ वर्षीय मनोज, मनमती कौर, १९ वर्षीय सुनील थारू, १६ वर्षीय विजय थारू, १८ वर्षीय हरि योगी र सन्तोष पनि घाइते भएकाले उनीहरुलाई बाराबङ्कीस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell