
काठमाडौं : नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले राज्यले स्वास्थ्य र शिक्षामा लगानी नबढाएसम्म देश समृद्धिको बाटोमा नजाने बताएका छन्। प्रजातन्त्रवादी चिकित्सक संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘एकातिर हामी समृद्धिको कुरा गर्छौँ, अर्को तिर यी विषयमा न्यून बजेट छुट्ट्याउँछौँ, अनि कसरी देश उँभो लाग्छ,’ कोइरालाले भने।
शिक्षा र स्वास्थ्य मन्त्रालय काङ्ग्रेसले नलिएर गल्ती गरिरहेको पनि उनले गुनासो गरे। भने, ‘स्वास्थ्य मन्त्रालय कहिलेकाहीँ लिने गरेपनि शिक्षा मन्त्रालय लामो समय काङ्ग्रेसले लिएको छैन। अब यी दुवै मन्त्रालय छाड्नुहुन्न।’
कोइरालाले चिकित्सकलगायत पेशाकर्मीहरुलाई विशेष व्यवस्था गरेर काङ्ग्रेस पार्टीमा भूमिका दिनुपर्ने बताए।
‘पेशाकर्मीहरु तलैबाट हाम्रा कार्यकर्तासँग प्रतिस्पर्धा गरेर आउँन सक्दैनन्। पार्टीमा उहाँहरुको अनुभव र भूमिकाको ठूलो महत्त्व छ,’ उनले भने।