PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

आफन्त र चिनेजानेकाबाटै परिवार सखाप हुनेगरी हत्याको श्रृङ्खला



सविन ढकाल

आफन्त र चिनेजानेकाबाटै परिवार सखाप हुनेगरी हत्याको श्रृङ्खला

काठमाडौं : शुक्रवार बिहान उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भयो। बेलका नगरपालिका-७ बस्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी ३३ वर्षीय श्रीमती सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन मारिए।

बिहान ११ बजेतिर तीन जनाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले हत्या अभियोगमा ४३ वर्षीय नणबहादुर बस्‍नेतलाई भाग्दै गर्दा नियन्त्रणमा लिएको जनाएको छ।

उनको साथबाट घटनामा प्रयोग भएको हतियार (खुकुरी) समेत बरामद गरिएको प्रहरीको दावी छ। रणबहादुरलाई बेलका-६ बरबोट नजिकैको जङ्गलबाट खुकुरीसहित पक्राउ गरिएको हो।

वालबुङ खोला नजिकै शव भेटिएको हो। आमा र छोराको शव एक ठाउँमा र बुबाको शव अर्कोतिर भेटिएको हो।

‘बिहानै खेत गोड्न गएका रहेछन् र त्यहीँ खोला नजिकै हत्या गरेको अवस्थामा शव भेटिएको थियो,’ बेलका नगरपालिका प्रमुख अशोक कार्कीले भने।

उनी मृतकका नाता पर्ने व्यक्ति हुन्। नातामा राजकुमारका उनी दाइ पर्छन्। प्रारम्भिक अनुसन्धानमा लेनदेन र रिसइबीका कारण घटना भएको खुलेको छ। सामान्य विवाद हुँदा खुकुरी प्रहार गरेर हत्या गरेको अभियुक्तले बयान दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयालले बताए।

‘खुकुरी पनि बरामद गरेका छौँ। अभियुक्तले पनि खुकुरी प्रहार गरेर हत्या गरेको भनेका छन्,’ एसपी फुयालले भने।

घटना सामान्य कुरामा विवाद हुँदा आवेगमा आएर हत्या गरेको खुलेको छ। तर, प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाले अहिले नै यही भन्ने स्पष्ट छैन। तर, पछिल्लो समय देशभित्र भएका सामूहिक हत्यामा आफन्त र चिनेजानेका व्यक्तिबाट नै हुने गरेको देखिएको छ।

नजिकका आफन्तबाटै सामूहिक हत्याको घटना नेपालमा सामान्य जस्तै बन्न थालेको छ।

उदयपुरको घटनाले फेरि एकपटक संखुवासभाको यस्तै घटना सम्झाएको छ। एकै परिवारका ६ जना आफन्तबाट नै मारिएका थिए त्यहाँ। मादी नगरपालिका १ मा सामूहिक हत्या भएको थियो।

५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिनाहरुको हत्या गरिएको थियो। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको थियो।

घटना भएको ६ दिनपछि लोकबहादुरक कार्कीलाई पक्राउ गरिएको थियो। त्यसको केही समयपछि प्रहरीले ४७ वर्षीय खड्गबहादुर कार्की, उनका २८ वर्षीय छोरा हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादर कार्की र १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। नरेश र रणबहादुर कार्की लोकबहादुरका भाइ र बुबा हुन्। सामूहिक हत्या रिसइबीका कारण भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो। चक्कु र दाउराको चिर्पट प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानमा देखिएको थियो।

हत्या प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेकामध्ये ४ जनालाई आजीवन कैद सजाय तोकिसकिएको छ। जिल्ला अदालत संखुवासभाले प्रतिवादीमध्ये ४ जनालाई आजीवन कैद गर्ने निर्णय सुनाइसकेको छ। त्यस्तै, एक नावालक प्रतिवादीको हकमा भने २५ वर्षको दुई तिहाई कैद सजाय सुनाइएको छ।

त्यसअघि २०७६ जेठमा पाँचथरको मिक्लाजुङ्मा नौ जनाको हत्या भएको थियो। एक बालिका भने भागेर बाँच्न सफल भएकी थिइन् त्यतिखेर। ३६ वर्षीया जस्मिता फियाक, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बुको हत्या भएको थियो। घटना भएको स्थानबाट करिब २ किलो मिटरको दुरीमा मानबहादुर माखिम झुन्डिएको अवस्थामा फेला परेका थिए।

घटनास्थल नजिकै रगत लागेको लुगा, खुकुरी भेटिएकाले उनले नै अरुको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेको थियो। हत्या गरेका मानबहादुर माखिम बमबहादुरका कान्छा ज्वाइँ हुन्।

त्यस्तै, २०७७ जेठमा रुपन्देही तिलोत्तमा १० मा एक व्यक्तिले कोदालोले प्रहार गरेर पाँच जनाको हत्या गरेका थिए। गंगादेवी पशु फार्ममा काम गर्नेले राति हत्या गरेका थिए। जसमा ४ जना पुरूष र एक महिला थिए। मृत्यु हुनेहरुमा जानकी मुसहर, माधव मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर रहेका थिए। मारिनेमा श्रीमान् श्रीमती नै थिए।

प्रहरीले हत्या अभियोगमा सोही दिन सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीलाई नियन्त्रणमा लिएको थियो। उनी मदिरा खाएर बेहोस भएको अवस्थामा फेला परेका थिए। उनले हत्या गरेको स्वीकार समेत गरेका थिए।

अफवाह फैलाएपछि आफूले रिसको आवेगमा हत्या गरेको उनले बयान दिएका थिए। घटना भएको सात महिनापछि उनलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइएको थियो।

गत साउन १६ गते काठमाडौंको तार्केश्वर नगरपालिका २, पदमसालस्थित एक घरभित्र एकै परिवारका चार जनाको घरभित्र शव भेटिएको थियो। गोरखा घर भएर हाल तारकेश्वर बस्ने ४१ वर्षीय दिनेश पाण्डे, उनकी ३९ वर्षीय सुनिता काप्री पाण्डे र दुई जना १३ र ८ वर्षीय छोराछोरी मृत भेटिएका थिए।

बन्द कोठाभित्र चारै जनाको शव विभत्स अवस्थामा फेला परेको थियो। चारैवटा शवमा धारिलो हतियारको गहिरो चोट थियो। अहिलेसम्मको अनुसन्धानमा बाबुले छोरा र श्रीमती हत्या गरेर आत्महत्या गरेको खुलेको छ।

यस्तै, प्रकृतिको अर्को घटना २०७७ साल भदौमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा एकै परिवारका तीन जना घरभित्र मृत फेला परेका थिए। ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय सुशान्त (छोरा) मृत अवस्थामा फेला परेका थिए। उनीहरुको मृत्युको समय पनि फरक फरक भएको फेला परेको थियो। यहाँ पनि बुबाले छोरा र श्रीमतीको हत्या गरेको खुलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell