PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

केन्यामाथि लगातार दोस्रो खेलमा जित, एक खेल अगावै नेपाललाई सिरिज



पहिलोपोस्ट

केन्यामाथि लगातार दोस्रो खेलमा जित, एक खेल अगावै नेपाललाई सिरिज
फाइल फोटो क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीले केन्याविरुद्ध लगातार दोस्रो जित निकाल्दै एकदिवसीय अभ्यास सिरिज जितेको छ। आज सम्पन्न खेलमा घरेलु टोली केन्यामाथि १७ रनको जित निकाल्दै नेपालले तीन खेलको सिरिज एक खेल अगावै सिरिज जितेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहायतामा २३० रन बनाएको थियो। नेपालका लागिरोहित पौडेलले सर्वाधिक ७८ रन बनाउँदा देव खनालले ३७ तथा सोमपाल कामीले २६ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसीर अहमदले १७, मोहम्मद आदिल आलमले १४ रन बनाउँदा करण केसीले ११ रन जोडे।

केन्याका विरज पटेल, शेम एन्गोचे, नेहमिह ओधिआम्बोले समान २ विकेट तथा लुकास ओलाउच र राकेप पटेले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको केन्या ४६.३ ओभरमा २१३ रनमा समेटियो। केन्याका लागि राकेप पटेलले सर्वाधिक ८१ रन बनाउँदा कोलिन्स अबुयाले ३७ रन बनाए। त्यस्तै नेल्सन ओधिआम्बोले २८, जेराल्ड एमवेन्दाले २० रन बनाए।

केन्यालाई लक्ष्यसम्म पुग्न नदिन दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा सोमपाल कामीले ३ तथा करण केसी र पवन सर्राफले समान १ विकेट लिए।

यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यासँग शुक्रवार पहिलो एकदिवसीय खेल खेलेको थियो। उक्त खेलमा नेपाल सात विकेटले विजयी भएको थियो। तेस्रो खेल सोमवार जिमखाना क्रिकेट मैदानमा हुनेछ।

नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी-२० क्रिकेट सिरिज पनि खेलेको थियो। नेपालले उक्त सिरिज ३-२ ले जित्यो। टी-२० सिरिजको कप्तानी नियमित कप्तान सन्दीप लामिछानेले गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell