
बुटवलः नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा भिड्ने आँट कुनै पनि राजनीतिक पार्टीसँग नभएको दाबी गरेका छन्। प्रेस चौतारी रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा नेता पौडेलले गठबन्धनको वैशाखी टेकेर एमालेसँग प्रतिसपर्धा गरे पनि त्यो असफल हुने बताए।
‘हामीसँग चुनावी प्रतिस्पर्धा गर्न कसैको पनि आँट छैन’, पौडेलले भने ‘हामीसँग एक्लै भिड्ने आँट नभएपछि गठबन्धनको वैशाखी टेकेर चुनाबमा जानुपर्ने अबस्था आएको हो।’
स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै मत पाएको उल्लेख गर्दै उनले उक्त मत परिणामले राम्रो सन्देश दिएको बताए। एमालेले सत्ता गठबन्धनको तुलनामा लोकप्रिय मत पाएको दाबी गरे।
आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन् भातृ संगठनलाई पौडेलले निर्देशन दिए।
उनले बुटवलमा निर्माणाधीन तिनाउ करिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न आग्रह समेत गरे। करिडोरमा पर्ने घरपरिवारलाई उनीहरुको इच्छा अनुसार चित्तबुझदो स्थानान्तरण गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे।
देशका १६५ निर्वाचन क्षेत्रमध्ये रूपन्देही २ विकासका हिसाबले सबैभन्दा अग्रभागमा रहेको उनले बताए।