PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

लुटपाटमा उत्रिएका डाँकाहरुको समूह र प्रहरीबीच झडप : दोहोरो हवाई फायर, सई घाइते



राधेश्याम पटेल

लुटपाटमा उत्रिएका डाँकाहरुको समूह र प्रहरीबीच झडप : दोहोरो हवाई फायर, सई घाइते

वीरगंज : बारामा डाँकासमूह र प्रहरीबीच दोहोरो झडप भएको छ। वीरगंज-पथलैया ओद्योगिक क्षेत्रमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा गएराति १२:१० बजे लुटपाट गर्न गएको डाँकाहरुको समूहसँग प्रहरीको झडप भएको हो।

उद्योगमा डाँकाहरु प्रवेश गरेको सुचनापछि इलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक कलमबहादुर शाहीको कमान्डमा टोली पठाइएको थियो। त्यसपछि प्रहरी र डाँकाबीच दोहोरो झडप भयो।

झडपको क्रममा डाँकाको तर्फबाट एक राउन्ड र प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो। हतियारसहित लुटपाट गर्न उद्योग छिरेका १०/१२ जना डाँकाहरुको समूहमध्ये एक जना डाकाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गर्दा उनी गम्भीर घाइते भएका छन्।

शाहीको अहिले वीरगंज हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको छ। प्रहरीले डाका समूहका दुई जनालाई नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए। प्रहरीले नियन्त्रणमा लिएका अभियुक्तहरुको विस्तृत विवरण केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने उनले बताए। प्रहरीले डाँकाहरुको साथबाट ३ थान गोलिसहित एक थान बरुवा बन्दुक र एक थान कटुवा पेस्तोलसहित दुई थान बन्दुक बरामद गरेको छ। डाँकाहरु स्थानीय चोरहरु रहेको र उनीहरु लुटपाट गर्न उद्योगमा गएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell