PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

कांग्रेसमा बढ्दो आरजु राणा मोह, बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि सिफारिस



पहिलोपोस्ट

कांग्रेसमा बढ्दो आरजु राणा मोह, बाँके बर्दियादेखि वाग्लुङसम्म उम्मेदवारका लागि सिफारिस

काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरुले देशभरबाट आफ्नो उम्मेदवार सिफारिस थालेको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि देशभरबाट उम्मेदवारहरुको नाम केन्द्रमा मागेको छ।

यही मेसोमा प्रधानमन्त्रीपत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवा विभिन्न पाँच क्षेत्रबाट सिफारिसमा परेकी छिन्। उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी हुन्।

आरजुको निर्वाचन क्षेत्र कैलाली ५ हो। यहीबाट उनी गत निर्वाचनमा नारदमुनि रानासँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा रानाले २७,२०२ मत प्राप्त गर्दा भने आरजुले २२,३२२ मत प्राप्त गरेकी थिइन्।

यही क्षेत्रबाट पहिलोपटक आरजुको नाम सर्वसम्मत सिफारिस भएको थियो। त्यसपछि आरजुको नाम डडेल्धुराबाट समानुपातिकमा सिफारिस भयो। यही क्षेत्रबाट प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा प्रत्यक्षमा सिफारिसमा परेका छन्।

डडेल्धुरापछि आरजुलाई बाँके ३ र बर्दिया २ बाट प्रत्यक्षका लागि सिफारिसमा परिन्। शनिवारमात्र नेपाली कांग्रेस बागलुङले वाग्लुङ क्षेत्र नं २ बाट आरजुसहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ।

कांग्रेस वाग्लुङ क्षेत्र नं २ ले आरजुसहित नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए।

प्रधानमन्त्रीपत्नीसमेत रहेकाले पार्टीमा आरजु मोह बढेको कांग्रेस नेताकार्यकर्ता बताउँछन्।

आरजुअघि कांग्रेसका महामन्त्री गगन थापा पनि कास्की क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका थिए। महामन्त्री थापाले भने आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै निर्वाचन लड्ने बताइसकेका छन्। थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell