PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

पोखरा महानगरमा धनराजको १०० दिने उपलब्धि : फूल रोप्नेदेखि पत्रकार भेटघाटसम्म



पहिलोपोस्ट

पोखरा महानगरमा धनराजको १०० दिने उपलब्धि : फूल रोप्नेदेखि पत्रकार भेटघाटसम्म

पोखरा : निर्वाचित भएर आइसकेपछि फूल रोपेर कार्यभार सम्हालेका थिए पोखरा महानगर जनप्रतिनिधिहरुले। जिरो किलोमिटर चोकदेखि हलनचोकसम्म सडकका डिभाइडरमा ३७५ वटा फूलका विरुवा रोप्दै महानगरका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका थिए।

महानगर प्रमुख धनराज आचार्य सहित अन्य जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक सय दिन पुगेको छ। पोखरा महानगरले पत्रकार सम्मेलन गर्दै आफ्नो सय दिनको सय उपलब्धिहरु सयवटा बुँदागत रुपमा सार्वजनिक गरेको छ।

महानगरको सयवटा उपलब्धिमुलक बुँदाको पहिलो नम्बरमै छ डिभाइडरमा फूल रोपेको उपलब्धि। यस्तै, फुटबल प्रतियोगितामा आर्थिक सहायता गरेका कार्यलाई पनि आफ्नो सय दिने उपलब्धिमा समावेश गरेको छ महानगरले। यसरी समावेश गरिएका अधिकांश उपलब्धिहरु महानगरले यसअघि प्रदान गर्दै आएका कार्यक्रमहरु नै हुन्।

'हाम्रा सय दिन'को चौथो र सातौं, आठौं र ११ बुँदामा समावेश भएका २४ हजार फलफूलको बिरुवा रोपण, खाल्डाखुल्डी पुर्ने अभियान, छाडा चौंपायाको व्यवस्थापन, फुटबल प्रतियोगितामा सहयोग, उपप्रमुखसँग महिला कार्यक्रमलाई उपलब्धिमा समावेश गरेको छ।

महानगरले एघारौं नगरसभा र बजेट निर्माण र अनुमोदनको कार्यलाई पनि आफ्नो उपलब्धिमा समावेश गरेको छ। यस्तै महानगरले सञ्चारकर्मीसँग गरेको पाँच पटकको पत्रकार भेटघाट कार्यक्रमलाई पनि उपलब्धिमा राखेको छ।

महानगरले सय दिनको सय उपलब्धि सार्वजनिक गरे पनि उल्लेखनीय काम भने गरेको छैन। महानगरले पूरा गर्नुपर्ने जिम्मेवारी र प्रदान र गर्दै आएका कामलाई पनि उपलब्धिमा समावेश गरेको छ।

यता, महानगरका प्रमुख आचार्य आफ्नो सयदिनको समयलाई आन्तरिकरुपमा व्यवस्थित बन्न समय खर्चिएको बताउँछन्।

'एउटा अण्डालाई बाहिरबाट फुटायो भने त्यो अम्लेट बन्छ तर भित्रबाट फुट्ने वातावरण बन्यो भने त्यसले अर्को जिवको रुप लिन्छ,' प्रमुख आचार्यले भने,'यो सयदिन हामी अम्लेट बनाउनेतिर होइन चल्ला बनाउनेतिर यसको बेस बनाउनेतिर आन्तरिक व्यवस्थालाई बलियो बनाउनेतिर बढी खर्च गरेका छौँ।'

यस्तै आन्तरिक रुपमा व्यवस्थापन भइरहेको टिमले राम्रोसँग काम गर्नसक्नेमा पनि आफू विश्वस्त रहेको उनले बताए ।

चित्त बुझाउने उपलब्धि

न्यायीक समिती गठन, उपत्यका नगर विकास समितिको पदभार ग्रहण र विभिन्न समिती गठन जस्ता सामान्य प्रक्रियागत कार्य र जिम्मेवारीलाई महानगरले आफ्नो उपलब्धि समेटेपनि केही उल्लेखनीय काम पनि गरेको छ। नागरिकको गुनासो सुन्ने कार्यक्रम, एकद्वार प्रणाली हेल्लो मेयर कार्यक्रम पनि महानगरले ल्याएको छ। विपद् जोखिम न्यूनीकरणका लागि महानगरले केन्द्र पनि स्थापना गरेको छ। यस्तै अपांगताको प्रमाणपत्र, मातृशिशु होस्टेल संचालन, सार्वजनिक शौचालयको शुभारम्भका काम गरेको छ।

यो बाहेक महानगरले पहिला अधुरा रहेका मेट्रो कार्ड संचालन र बिजुलीको तार अन्डरग्राउण्ड गर्ने योजनालाई पनि अघि सारेको छ। जसका लागि महानगरले प्राविधिक सहयोगीसँग छलफल गरिसकेको छ। महानगरका अनुसार बसहरुमा मेट्रो कार्डको परिक्षण सम्पन्न भइसकेको छ। जुन कर्मसियल रुपमा महानगरमा छुट्टै लागू हुँदैछ।

यस्तै बिजुलीको तार अन्डरग्राउन्ड गर्नका लागि विद्युत प्राधिकरण र महानगरबिच सम्झौता भएको छ। महानगरका अनुसार पहिलो चरणमा अर्घौंचोकदेखी लेकसाइडसम्म , सभागृह महेन्द्रपुल नयाँबजार पृथ्वीचोकसम्मका तार अन्डरग्राउन्ड गर्ने सम्झौता भएको छ। यी दुईलाई पनि महानगरले आफ्नो सय दिने उपलब्धिमा समावेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell