PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

चोलेन्द्रसँग अब अर्को हप्तामात्रै बयान, पूर्व डीआइजी रञ्जन कोइरालाको विषयमा भने : मैले विवेकको प्रयोग गरेको हुँ



पहिलोपोस्ट

चोलेन्द्रसँग अब अर्को हप्तामात्रै बयान, पूर्व डीआइजी रञ्जन कोइरालाको विषयमा भने : मैले विवेकको प्रयोग गरेको हुँ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे आज तेस्रो दिनको बयान सकिएको छ। आफूमाथि लागेको महाभियोगका बारेमा बयान दिन उनी आज बिहान सिंहदरबार पुगेका थिए। गत बुधवार र बिहीवार उनीमाथि लागेको महाभियोग छानबिन गर्न बनेको समितिले उनलाई विभिन्न प्रश्न सोधेको थियो। आज पनि त्यो क्रम जारी रह्यो।

तर, सवाल जवाफको कार्यतालिका लम्बिने देखिएपछि प्रक्रिया केही फेरिएको थियो। बुधवार र बिहीवार समितिका सदस्यले सोधेका एक प्रश्नको जवाफ तुरुन्तै जबराले फर्काउथे। तर आजबाट ४/ ५ वटा एउटै प्रश्न गरेपछि मात्र जवाफ दिने गरिएको थियो। समय धेरै लाग्ने भएपछि सवाल जवाफको 'ट्रेन्ड' परिवर्तन भएको हो।

समितिले जबरा ४३ वटा प्रश्न सोध्ने तयारी गरेको छ। दुई दिन उनीसँग मात्र ६ वटा प्रश्न सोधिएको थियो। आज उनलाई थप २ वटा प्रश्न सोधिएको छ। समितिले प्रश्न धेरै भएकोले प्रक्रिया छोट्याउने तयारी पनि थालेको छ।

जबराले पहिलो दिनको बयानमा न्यायाधीश,नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए। दोस्रो दिनमा उनले संसद र सांसदमाथि नै प्रश्न तेर्साएका थिए। आज भने सशस्त्र प्रहरीका पूर्व डीआइजी निरञ्जन कोइरालाको केस र न्यायलयभित्रको विलम्बको विषयमा प्रश्न गरिएको थियो। कोइरालको प्रश्नमा उनले न्यायधीशमा हुने विवेकको प्रयोग गरेको बताएका थिए। उनले आफूले विवेकको प्रयोग गर्दा कुनै गल्ती भए कसुर भोग्न सक्ने बताए।

त्यस्तै न्यायलयभित्रको विलम्बमा आफू मात्र कारण नहुने बताएका थिए। अदालतमा पर्ने मद्दाको संख्या, न्यायधीशहरुको संख्या लगायतले असर गर्ने उनको दाबी थियो।

जबराले महाभियोग प्रक्रिया स्वत: निष्कृय भइसकेको भन्दै समिति गठन प्रक्रिया नै गलत भएको बताएका छन्। समिति सदस्यहरुले भने दुई दिनको बयानका क्रममा जबरा प्रश्नको उत्तर दिन र आफूमाथिलागेको आरोप खण्डन गर्नु सट्टा व्यक्तिगत आरोपप्रत्यारोपमा लागेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell