PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

रुपन्देही २ मा एमालेबाट विष्णु पौडेल सर्वसम्मत सिफारिस



पहिलोपोस्ट

रुपन्देही २ मा एमालेबाट विष्णु पौडेल सर्वसम्मत सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले विष्णु पौडेललाई रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका पौडेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको हो।

२०७४ सालमा पनि पौडेल यसै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। २०७४ मा पौडेलले नेपाली काङ्ग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए।

पौडेलले ४४ हजार ९ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले २१ हजार ९४६ मत पाएका थिए। त्यस्तै, पौडेलले २०६४ मा माओवादीका भक्ति पाण्डे, २०७० मा डा बाबुराम भट्टराईलाई पनि सोही क्षेत्रमा पराजित गरेका थिए।

लुम्बिनी प्रदेशको अस्थायी मुकामसमेत रहेको बुटवल पनि रुपन्देही २ नम्बर क्षेत्रमा पर्छ। रुपन्देहीमा स्थानीय निर्वाचनको अनपेक्षित परिणामसँगै एमाले उपाध्यक्ष पौडेल आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय देखिएका छन्।

गठबन्धनले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन। गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका राजु गुरुङ उठ्ने चर्चा छ। रुपन्देही २ मा स्वतन्त्रबाट डा निकोलस भुसाल पनि उम्मेदवार बन्नेगरी सक्रियता बढाएका छन्।

पौडेलले रुपन्देही २ बाट तीन पटक चुनाव जितेपछि जलस्रोत, रक्षा र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०७४ मा प्रदेशसभातर्फ एमालेका लीला गिरी र भोजप्रसाद श्रेष्ठ विजयी भएका थिए। यस क्षेत्रमा बुटवल उपमहानगपालिकाका १ देखि १३ नम्बर वडा, सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडाहरू र तिलोत्तमाका १ देखि ६ नम्बर वडा पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell