PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

श्रमिकहरुको गुनासो सुनेपछि श्रममन्त्रीले भने : ठगी गर्ने एजेन्टहरुलाई खोजेर कारबाही गर्छौँ



पहिलोपोस्ट

श्रमिकहरुको गुनासो सुनेपछि श्रममन्त्रीले भने : ठगी गर्ने एजेन्टहरुलाई खोजेर कारबाही गर्छौँ

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने बताएका छन्। आइतवार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमा समेत एजेन्टहरुमार्फत जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताएका हुन्।

कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने भन्दै ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्न समेत नसकिएको बताए।

‘श्रमिकहरुबाट आएका जटिल खालका गुनासा भए केही समय लाग्छ। सामान्य प्रकारका गुनासा कल सेन्टरले पनि गर्छ। बाँकी विभागहरु र मन्त्रालयले गर्ने गरेको छ। धेरै गुनासाहरु समाधान नभएर थन्किएका छैनन्। केही जटिल प्रकारका भएकाले केही समय लाग्छ,' उनले भने।

मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको पनि बताए। अब सरकारले ठगी गर्ने एजेन्टहरुलाई खोजर अनुसन्धान गरेर कानुनी कारबाही गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

'वैदेशिक रोजगारीमा पठाउने नाउँमा जताततै ठगीको कामलाई नियन्त्रण गर्नुपर्छ। अहिले घर जग्गामा दलाली छ। अहिले फोहोर उठाउने विषयमा समेत दलाली चल्न थालेको छ। यो सबैको समाधानको लागि राज्यको मात्रै काम हो भनेर बस्दा समाधान गर्न सकिँदैन। त्यसको लागि सबैको भूमिका महत्वपूर्ण हुन्छ,' उनले भने।

कुँवरले आइतवार चार जना श्रमिकहरुको गुनासो सुनेका थिए। कुँवरले हरेक हप्ताको आइतवार एक घण्टा कल सेन्टरमा श्रमिकको गुनासो सुन्ने कार्य गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell