PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!



रमेश पराजुली

एउटै अस्पताल सात महिनामा दुई पटक शिलान्यास!

बुटवल : रुपन्देहीको सियारी गाउँपालिका-४ स्थित छपियामा एउटै अस्पताल दुई पटक शिलान्यास गरिएको छ। सात महिनाअघि तत्कालीन गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले शिलान्यास गरेको अस्पतालको फेरि गृहमन्त्री बालकृष्ण खाणले पुनः शिलान्यास गरेका हुन्।

छपिया स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै १५ शय्याको अस्पताल निर्माणको योजना छ। चुनाव लागेसँगै दोस्रो पटक अस्पतालको शिलान्यास भएपछि यसलाई कतिपयले गृहमन्त्री खाणको भोट बटुल्ने दाउको रूपमा टिप्पणी गरेका छन्। तत्कालीन पालिका अध्यक्ष थारुले २०७८ माघ २३ गते उक्त अस्पताल शिलान्यास गरेका थिए।

गृहमन्त्री खाणले शनिवार तामझामका साथ पुनः शिलान्यास गरेपछि निर्वाचनका बेला स्थानीयलाई प्रभावित पारेर आफूले जस लिन एउटै योजनालाई दुई पटक शिलान्यास गरेको आरोप उनीमाथि लागेको छ। यो गृहमन्त्री खाणको निर्वाचन क्षेत्र रुपन्देही ३ मा पर्छ।

यसअघि शिलान्यास गरेका थारुले भने गृहमन्त्रीको कामलाई  मतदाता प्रभावित पार्ने प्रयास भएको बताएका छन्। उनले आफ्नो कार्यकालमा सुरु भएका अन्य योजनामा पनि यस्तै प्रहार भइरहेको आरोप लगाएका छन्।

‘हामीले सबै प्रक्रिया पूरा गरेर शिलान्यास गरेका थियौँ, टेण्डर पनि भइसकेको थियो तर, अहिले हामीले गरेको भन्ने भ्रम छरेर मतदातालाई प्रभावित पार्न गृहमन्त्रीबाट दोस्रोपटक शिलान्यास गरिएको छ’, पूर्व गाउँपालिका अध्यक्ष थारुले भने, ‘सियारी गाउँपालिका २ मा बनेको पशु हाटबजार निर्माण सम्पन्न गरी आफूले उद्घाटन गरिसकेको भए पनि केही दिनअघि मुख्यमन्त्री कुलप्रसाद केसीले पुनः उद्घाटन गर्नुभएको छ।’

उनले अगाडि भने, ‘मेरो कार्याकालमा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका र केही शिलन्यास भई काम सुरु भएका पुराना योजनामा आफूले जस लिन खोजेको देखिन्छ।’

१५ शय्याको अस्पताल बनाउन पहिलो पटक शिलान्याससँगै २१ करोड ८० लाख ५० हजार २९५ रूपैयाँ अनुमानित लागत राखेर टेण्डर आह्वान गरिएको थियो। टेण्डर प्रक्रियाका सम्पूर्ण काम पूरा भई १८ करोड १ लाख ७ हजार ४८४ रूपैयाँमा निर्माण गर्ने गरी गत असार ८ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेका अनुसार २०८१ कात्तिक ७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ। अस्पताल निर्माणको जिम्मा कालिगण्डकी रविना जेभिले पाएको छ।

१५ शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि १०औँ तहका डाक्टर (मेडिकल सुपरिटेण्डेन)को नेतृत्वमा मेडिकल अधिकृतसहित डाक्टर, नर्ससहितको टिम रहनेछन्। अस्पतालबाट चिकित्सकीय सेवा, आकस्मिक, ओपीडी, फार्मेसी, ल्याब, रेडियोलोजी लगायतका सेवा प्रदान गरिनेछ।

शनिवार अस्पताल शिलान्यास गर्दै गृहमन्त्री खाणले तोकिएको समयभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका थिए। शिलान्यास कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ४ का सांसद प्रमोद कुमार यादव, लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुदमन्त्री वसिउद्धिन खाँ लगायतको उपस्थिति रहेको थियो।

गाउँपालिकाका वर्तमान अध्यक्ष थानेश्वर घिमिरे भने पहिले विभागले स्वीकृत नगर्दै हतारमा शिलान्यास गरिएको बताए। आफू गाउँपालिका प्रमुखमा विजयी भएर आएपछि निर्माण कम्पनीसँग सम्झौता गरेको उनले दाबी गरे।

‘पहिले बजेट परेर हतारमा चुनाव अगाडि शिलान्यास गरिए पनि वास्तविक शिलान्यास गृहमन्त्रीबाट शनिबार भएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell