PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई सर्वसम्मत सिफारिस



पहिलोपोस्ट

रुपन्देही ५ मा एमालेबाट खिमलाल भट्टराई सर्वसम्मत सिफारिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले रुपन्देही क्षेत्र नम्बर ५ बाट खिमलाल भट्टराईलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

एमाले क्षेत्रीय कमिटीको आइतवार बसेको बैठकले राष्ट्रियसभामा एमाले संसदीय दलका नेता एवं पोलिटब्युरो सदस्य भट्टराईको एकल नाम सिफारिस गरेको छ। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका भट्टराई अहिले राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक हुन्। निर्वाचनको मिति घोषणा भएसँगै भट्टराई निरन्तर यस क्षेत्रमा सक्रिय देखिएका छन्।

२०७४ सालमा यहाँ नेपाली काङ्ग्रेसका भरत कुमार शाह विजयी भएका थिए। काङ्ग्रेसले अहिलेपनि शाहलाई नै उम्मेदवार सिफारिस गरिसकेको छ। २०७४ मा शाहले ३३ हजार ८८ मत ल्याएर विजयी हुँदा एमाले-माओवादी केन्द्रको गठबन्धनका डिलराम आचार्यले २० हजार ४३८ मत पाएका थिए।

यस क्षेत्रमा रुपन्देहीको सैनामैना नगरपालिकाका वडा नम्बर ५ देखि ११, कञ्चन गाउँपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडा नम्बर १ देखि ११, मायादेवी गाउँपालिका र गैडहवा गाउँपालिका पर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell