PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विपक्षीलाई बल पुग्ने गरी सिट नमाग्न आग्रह गर्दै प्रवक्ता महतले भने : राजनीतिक दलको हैसियत बढाउन कांग्रेसले नै जित्नपर्छ



पहिलोपोस्ट

विपक्षीलाई बल पुग्ने गरी सिट नमाग्न आग्रह गर्दै प्रवक्ता महतले भने : राजनीतिक दलको हैसियत बढाउन कांग्रेसले नै जित्नपर्छ

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले राजनीतिक दलको हैसियत बढाउन आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक भएको बताएका छन्। राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित छलफलमा उनले स्वतन्त्र उम्मेदवार बढ्नुको कारण खोजिरहेको भन्दै कांग्रेसको जित महत्वपूर्ण रहेको बताएका हुन्।

'स्वतन्त्र उम्मेदवार किन बढिरहेका छन् भनेर नजिकबाट नियालिरहेका छौं। राजनीति दलको हैसियत बढाउन आगामी निर्वाचनमा कांग्रेसको जित आवश्यक छ,' उनले भने।

नेपाली कांग्रेसभित्र गठबन्धनको विरुद्ध मत बढिरहेकोबारेमा पार्टीभित्रै छलफल गरेर निर्णय लिइने उनले बताए।

'कांग्रेसभित्र गठबन्धन गर्ने विषय केन्द्रिय कार्यसमितिबाट सहमतिमा निर्णय भएको हो। मतान्तर संस्थागत रुपमा छलफल गरौं। सभापतिले सबैको विचार कुराको सुनुवाइ गर्दै आउनुभएको छ। अलग कुरा सम्प्रेषण गर्ने कुरा कम भएको छ। टुंगो पुग्ने कुरामा प्रवेश गर्नु पर्दैन भन्ने कुरा शेखर कोइरालाले गर्नुभएको छ,' उनले भने।

यस्तै, उनले गठबन्धनबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि आलोचना गरे। ओलीले अहिले पाँच दलको गठबन्धनलाई 'कम्फर्टेबल' भन्ने गरेको सन्दर्भमा महतले ओलीले आफूले चाहेको जस्तै व्याख्या गरिरहेको आरोप लगाए। भने, 'माओवादी कांग्रेसको विचार अलग छ। तर, गठबन्धन गरेको छ। हामी समग्र पार्टीलाई लोकतान्त्रीकरण गर्ने अभियानमा छौं। गठबन्धन गर्नु विचारबाट च्यूत हुनु होइन, उहाँले गर्नुभएको गठबन्धन ठिक, अरुले गरेको गठबन्धन बेठिक भन्ने होइन।'

महतले गठबन्धनमा अहिले कति सिटमा उम्मेदवारी दिनेभन्दा पनि सिट जितेर आउने परिणाममा ध्यान दिएको बताए। गठबन्धनमा रहेका दलहरुले बढी सिट मागिरहेको तर्फ इंगित गर्दै उनले गाह्रो भए पनि सिट बाँडफाट गरिने बताए। साथै, उनले विपक्षी दलहरुलाई बल पुग्ने गरि सिट दाबी नगर्न पनि गठबन्धनमा रहेका अन्य दललाई आग्रह गरेका छन्।

'अंक गणित सुनिश्चित गर्ने आइडियाले गठबन्धन अघि बढाएका छौं,' उनले भने, 'यथार्थ धरातलमा उभिएर सिट मिलाउन समय लागेको हो। हाम्रो यति नै भन्ने सिट संख्या छैन। अरु दलले पनि बढी नै मागेका छन्। सबैले स्वभाविक माग्नुपर्छ। कठिन छ तर टुंग्याउछौं,' उनले भने।

प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन गरेर चुनाव लड्ने निर्णय भए पनि कांग्रेसभित्रै सुदूरपश्चिममा कांग्रेस एक्लै लड्नुपर्ने आवाज उठिरहेको छ। यसबारे भने महतले यो पार्टीको आधिकारिक धारणा नभएको बताए।

'यो कार्यकर्ताको भनाइ हो पार्टीको आधिकारिक धारणा होइन। यो ठाउँ लिने ठाउँ हो भनेर उहाँहरुले राख्नुभएको कुरा हो। जसको आधार छ त्यहीँ लड्ने हो,' उनले भने।

उनले हाल हरेक ठाउँबाट उम्मेदवारको नाम सिफारिस आइरहेको भन्दै गठबन्धनमा ती क्षेत्र भागबन्डा परे सबैले बुझेर सहयोग गर्ने दाबी गरे।

गठबन्धनमा कुरा टुंगोमा नपुगेसम्म टिकट टुङ्याउने कुरा भएन कांग्रेसमा। गठबन्धनको टुंगोमा पुग्नेबित्तिकै कांग्रेसले पनि टुंगो लगाउँछ,' महतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell