काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसेर क्रमसँग आउनु भनेको अभियोगमा एक जना सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरिएको घटना बाहिरिएको छ।
ठमेलस्थित छाया सेन्टरमा रहेको एफएस ग्लोबल भिसा सेन्टरमा शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मन्त्री जीवनराम श्रेष्ठ भिसाको लागि आवेदन दिन श्रीमतीसँगै पुगेका थिए। बिहान ९ बजे श्रीमती र क्यानका केही सदस्यहरु पनि मन्त्री श्रेष्ठसँगै थिए। तर, कुनै जानकारी बिना नै भिसा सेन्टर पुगेका मन्त्रीलाई त्यहाँ खटिएका सुरक्षा गार्ड शेरजंग गुरुङले रोके।
उनले प्रक्रियागत रुपमा लाइनमा बस्नु भन्दै रोकेपछि मन्त्री र सुरक्षा गार्डबिच विवाद भएको थियो। त्यसपछि मन्त्रीको टोलीले प्रहरीलाई खबर गरेको थियो। अनि प्रहरीले भिसा सेन्टरमा कार्यरत गार्ड गुरुङलाई नियन्त्रणमा लिएको थियो। दरबारमार्गबाट पुगेको टोलीले गुरुङलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गुरुङ 'गरुड सेक्युरिटी'बाट त्यहाँ सुरक्षाको लागि खटिएका थिए।
'अभद्र व्यवहार भएको भन्ने सूचना आएपछि नियन्त्रणमा लिएका हौँ। म्याद थप गरेपछि अनुसन्धान हुन्छ,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले भने।
टेलिफोन कुराकानीमा मन्त्री जीवनराज श्रेष्ठले भने अहिले बाहिर आएको जस्तो घटना त्यहाँ नभएको बताए। आफूलाई गार्डले दुर्व्यवहार गरेको मन्त्री श्रेष्ठको दाबी छ।
'म समयमा नै पुगेको थिएँ। म भन्दा अगाडी मेरो सेक्युरिटी त्यसपछि म र श्रीमती लाइनमा नै बसेका थियौं। खासै भीड पनि थिएन। तर एउटा गार्ड एक्कासि ठेलमठेल गर्दै लाइनमा लाइनमा भन्दै आयो,' मन्त्री श्रेष्ठले भने।
त्यसरी गार्ड आएपछि मन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले 'उहाँ मन्त्री हो' भन्दै जानकारी दिएको मन्त्री श्रेष्ठले बताए। तर पनि उसले कुनै प्रतिक्रिया भने दिएनन्।
'मेरो गार्डले मन्त्री भन्यो तर उसले आइ नो भन्दै मन्त्रीसन्त्री मतलब छैन भन्दै अर्कै व्यवहार गर्यो। मैले आवेदन दिएर फर्किँदा पनि घुरेर हेरिरहेको थियो,' मन्त्री श्रेष्ठले भने।
नियन्त्रणमा लिएका गुरुङलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ। अभद्र व्यवहारको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट नै म्याद थप गर्न पाउँछ।