PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रकाशको कथाले हलसम्म डोहोर्‍यायो दर्शकलाई, ‘कबड्डी ४’ पछि नेपाली फिल्म सफलताको बाटोमा



लक्ष्मी बलायर

प्रकाशको कथाले हलसम्म डोहोर्‍यायो दर्शकलाई, ‘कबड्डी ४’ पछि नेपाली फिल्म सफलताको बाटोमा

काठमाडौं : रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’पछि कुनै पनि नेपाली फिल्महरूले हलसम्म दर्शक तान्न सकेनन्। तर, भदौ १० गतेबाट प्रदर्शन भएको प्रदीप खड्का अभिनित ‘प्रकाश’ ले हलमा माहोल बनाएको छ। फिल्म ‘कबड्डी’ पछि सुस्ताएको नेपाली फिल्मी बजारमा ‍प्रकाशले चहलपहल फर्काएको हल संचालकहरुको भनाइ छ।

अहिले नेपाली सिनेमाहलमा तीनवटा नेपाली फिल्म प्रदर्शनरत् छन्। दिनेश राउत निर्देशित ‘प्रकाश’ सँगै सुदर्शन थापाको ‘सम्हालिन्छ कहिले मन’ र ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ’ प्रदर्शन भइरहेका छन्। साथमा विजय देवरकोन्डा अभिनित भारतीय फिल्म ‘लाइगर’ पनि चलिरहेको छ।

‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ भदौ १७ अर्थात गत शुक्रवारदेखि रिलिज भएका हुन्। फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहेको छ। त्यसैगरी, भीमनिधि तिवारीको कथा ‘झिँगेदाउ’ मा आधारित फिल्म ‘झिँगेदाउ’ मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल बिष्टको मुख्य भूमिका रहेको छ। यी दुवै नेपाली फिल्महरुले पनि राम्रै व्यापार गरिरहेको बताउँछिन् देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी बजार प्रमुअ तृप्ति गिरी।

‘प्रकाश’ भने भदौ १० गते रिलिज भएको थियो। सुरुमा कम शो पाएको भन्दै प्रकाशको टिम आक्रोशित बनेको थियो। अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलन गरेर नै शो कम दिएकोमा असन्तुष्टि जनाएका थिए। कम शो पाएको भन्दै 'राधा' ले आफ्नो प्रदर्शन नै रोक्ने निर्णय समेत गर्‍यो।

यो सबै लाइगरका कारण भएको थियो। तर, फिल्मकर्मीको आलोचना र 'लाइगर' को असफलताले 'प्रकाश' उदायो। फिल्मको चर्चा हुन थालेसँगै हलमा शोहरु बढ्न थाले। पछिल्लो समय प्रदर्शनरत् तीनवटै फिल्मले राम्रो गरिरहेको हल संचालक बताउँछन्।

‘अहिले क्युएफएक्सका सबै हलहरुमा दर्शकहरूको चहलपहल राम्रो छ। तीनवटै नेपाली फिल्महरुको व्यापार राम्रो छ। गत शुक्रवार झिँगेदाउभन्दा सम्हालिन्छ कहिले मन र प्रकाशको राम्रो थियो। तर हिजोबाट झिँगेदाउले पनि पिकअप गरिरहेको छ। बरु भारतीय फिल्म लाइगरमा खासै दर्शक छैनन्। विदेशी भन्दा नेपाली फिल्म नै राम्रो भइरहेको छ,’ गिरिले भनिन्।

‘कबड्डी’ पछि फिल्म ‘प्रकाश’ ले नै नेपाली सिनेमाहलमा चहलपहल बढाएको गिरीको भनाइ छ। ‘सुरुमा ठिकै गरेको प्रकाशले पछि पिकअप गरेको हो। प्रकाशको कथा राम्रो हुँदा हलमा दर्शकको उपस्थिति निकै राम्रो छ। कबड्डीपछि राम्रो दर्शक आएको प्रकाशमा नै हो,’ उनले भनिन्, ‘अहिले तीनवटै फिल्मलाई नै लगभग बराबर नै शो दिएका छौँ। अहिले तीनवटाको नै व्यापार राम्रो छ।’

न्यूरोडमा रहेको रञ्जना सिनेप्लेक्समा पनि नेपाली फिल्म हेर्न दर्शकको चहलपहल बढ्न थालेको छ। ‘कबड्डी ४’ पछि सेलाएको नेपाली फिल्मी बजारलाई ‘प्रकाश’ माथि उकास्न सहयोग गरेको रञ्जना सिनेप्लेक्सका म्यानेजर शशांक मान सिंहले बताए।

‘बिचमा खासै हलमा दर्शकको उपस्थिति थिएन। प्रकाश रिलिज भएपछि भने हलमा दर्शकहरूको चहलपहल राम्रो छ। प्रकाशले निकै राम्रो गरिरहेको छ। त्यस्तै, झिँगेदाउ र सम्हालिन्छ कहिले मन दर्शकको संख्या ठिकै छ। हिजो शनिवार भएकालै यी तिनै फिल्ममा भिड थियो। तर आज भने अलि केही कम छ।’

कबड्डी ४ पछि ‘प्रकाश’ ले दर्शकलाई हलसम्म तानेको दाबी गर्दै उनले विस्तारै नेपाली फिल्म क्षेत्र लयमा फर्किने आशा व्यक्त गरे।

त्यसैगरि, राइजिङ मलमा रहेको क्यूज सिनेमामा दर्शकहरुको उपस्थिति राम्रो छ। भारतीय फिल्मभन्दा नेपाली फिल्ममा नै दर्शकको संख्या बढी भएको सुनाउँछन् क्युज सिनेमाका इन्चार्ज अभिषेक थपलिया।

भन्छन्, ‘नेपाली फिल्ममा अहिले दर्शकको उपस्थिति राम्रै छ। लाइगरमा खासै दर्शक छैनन्। नेपाली फिल्महरूले केही आशा देखाएको छ। तुलनात्मक रुपमा सबैभन्दा प्रकाशले नै राम्रो गरिरहेको छ। कबड्डीपछि दर्शक फर्काउने श्रेय प्रकाशलाई नै जान्छ।’

नेपाली फिल्ममा कथाको अभाव भएको भन्दै आलोचना हुँदै आएको छ। हिन्दी र तमिल फिल्मको तुलनामा नेपाली फिल्मको कथा र प्राविधिक पक्ष कमजोर भएको भन्दै आलोचना पनि हुनेगर्छ। यसबिच, फिल्म प्रकाशले नेपाली सिनेमा क्षेत्र पनि राम्रो छ भन्ने छाप छाडेको फिल्मकर्मीहरु बताउँछन्। अब रिलिज हुने प्रदीप खड्का कै अभिनय रहेको फिल्म प्रेम गीत ३ ले पनि नेपाली दर्शकलाई हलसम्म थप तान्ने कलाकारको विश्वास छ। हिन्दीमा समेत डब गरिएको सो फिल्मको चर्चा अहिले बलिउडमा पनि भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell