काठमाडौं : कात्तिक ११ बाट विश्वव्यापी रिलिज हुन लागेको फिल्म ‘महापुरुष’ विदेशमा पनि नियमित शोमा प्रदर्शन हुने भएको छ।
प्रदीप भट्टराई निर्देशित यो फिल्म अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान, युरोप, कोरिया र मध्य पूर्वका देशहरुमा एक साथ रिलिज हुँदैछ। यीमध्ये अमेरिका र अस्ट्रेलियाको प्रदर्शनको लागि लगभग नियमित शोको चाँजोपाँजो मिलेको छ।
एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महँगो रकममा खरिद गरेका छन्। एमएसएम इभेन्ट्सले अस्ट्रेलियाका विभिन्न प्रान्तमा आयोजना हुने शो र एकै सर्भर मार्फत टिकट लिन सकिने गरी एप डेभलप गरिरहेको छ।
निर्देशक भट्टराईका अघिल्ला सिनेमाले दर्शकलाई निराश नबनाएका कारण ‘महापुरुष’को अस्ट्रेलियामा राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए।
अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतिक सुवेदीले पनि प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँको यसअघिको सहकार्यमा बनेका फिल्मले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए।
नियमित शोमा फिल्म देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए।
‘जसरी सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो। अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पूरा भएको छ। अब दर्शकले अन्य विदेशी सिनेमा झैँ आफ्नो अनुकुल समयमा हेर्न पाउनु हुनेछ,’ बानियाँले भने ।
अमेरिकामा नेपाल रिलिजकै दिन ३० शोको हाराहारीमा सिनेमा प्रदर्शन हुनेछ। यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५० र ५० लाखमा बिक्री भएको हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, शिरु विष्टलगायतका कलाकारहरुको अभिनय छ।