
जनकपुरधाम : आगामी मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा (एमाले)ले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट रघुवीर महासेठ दम्पतीलाई उम्मेदवारमा सिफारिस गरेको छ।
एमालेको क्षेत्रीय कमिटी बैठकले धनुषा क्षेत्र नम्बर ३ मा पोलिटब्युरो सदस्य जुलीकुमारी महतोको एकल नाम सिफारिस गरेको छ। त्यस्तै, धनुषाको क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका नेता बचनदेव पँजियारले जानकारी दिए।
बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई पठाउने र केन्द्रीय समितिले अनुमोदन गर्ने उनले बताए। पूर्व मन्त्री समेत रहेकी नेतृ महतो एमालेका सचिव महासेठकी श्रीमती हुन्।
अन्य क्षेत्रमा समेत बैठक जारी रहेको छ भने अर्को दिन बस्ने बैठकले प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र समानुपातिकको सूचीबारे निर्णय गर्ने गरी बैठक स्थगित भएको अर्का नेता सोम शर्माले बताए।