PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन



पहिलोपोस्ट

टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन

टाटा ग्रुपका पूर्व अध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ। भारतको गुजरातस्थित उदवाडँमा बनेको पारसी मन्दिरबाट फर्किरहेका ५४ वर्षीय मिस्त्री सवार मर्सिडिज कार डिभाइडरमा ठोक्किएपछि उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। मुम्बई अहमदवाद नेसनल हाइवेमा आइतवार दिउँसो कार दुर्घटनामा परेको हो।

कार तीव्र गतिमा चलाएको कारण नियन्त्रणबाहिर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनायो। महिला डाक्टर अनायता पंडोलेले कार चलाएको र उनको साथैमा उनका पति दरीयस पंडोले रहेको बताइएको छ। पछाडिको सिटामा मिस्त्री र दरीयसका बुवा जहांगीर रहेका थिए। मर्सिडिज जीएलसी २२० मा अगाडिको सिटको एयरब्याग सही समयमा खुले पनि पछाडिको नखुलेको बताइएको छ। एयरब्याग खुलेको भए मिस्त्री बच्ने सम्भावना भएको त्यहाँको प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा परेको कारको फरेन्सिक जाँच भइरहेको छ। यसले दुर्घटनाको कारण पत्ता लाग्ने बताइएको छ। प्रहरीका अनुसार दुर्घटनास्थल वरपर सिसिटीभी क्यामरा थिएन। कार चालक अनायता पंडोले र दरीयस पनि गम्भीर घाइते रहेका छन्। उनीहरुको त्यहाँस्थिति इन्द्रधनुष अस्पतालमा उपचार भइरहेको छ।

कार दुर्घटनामा परी ज्यान गुमाएका मिस्त्रीकी श्रीमती र छोरा बेलायतस्थित लन्डनमा रहेका छन्। सोमवार उनीहरु मुम्बाई आइपुग्ने तालिका रहेको छ। मिस्त्रीलाई टाटा ग्रुपुले २०१२ मा टाटा ग्रुपको अध्यक्ष नियुक्त गरेको थियो। त्यसको ४ वर्षपछि उनलाई उक्त पदबाट हटाइएको थियो। मिस्त्रीको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्।

मिस्त्री भारतीय मूलका सबैभन्दा सफल तथा शक्तिशाली व्यापारी मध्येका एक पलोनजी शापुरजी मिस्त्रीका छोरा हुन्। साइरसको जन्म आयरल्याण्डमा भएको थियो। उनले लन्डन बिजनेस सकुलबाट पढाई सकेका थिए। उनले सन् १९९१ देखि आफ्नो पारिवारिक ब्यापार समूह पलोनजी ग्रुपमा काम थालेका थिए।

सन् १९९४ मा उनी शापुरजी पालोनजी ग्रुपको डाइरेक्टर बने।

उनकै नेतृत्वमा कम्पनीले भारतको सबैभन्दा अग्लो रेसिडेन्सियल टावर, सबैभन्दा लामो रेलवे पुल र सबैभन्दा ठूलो पोर्ट बनाएको थियो।

यसै वर्ष मात्रै साइरसका पिता पालोनजी मिस्त्रीको पनि निधन भएको थियो।

सन् २०१२ मा रतन टाटाले टाटा एण्ड सन्सको अध्यक्ष पदबाट अवकाश लिएपछि साइरसलाई अध्यक्ष बनाइएको थियो। उनी टाटा सन्समा सबैभन्दा कम उमेरमा अध्यक्ष बनेका थिए।

टाटा सन्समा मिस्त्री परिवारको १८.४ प्रतिशत शेयर छ। टाटा ट्रस्टपछि टाटा सन्समा मिस्त्री परिवार दोस्रो ठूलो शेयर होल्डर हुन्। तर अनेक बिवादका बीच चार वर्षमै मिस्त्रीलाई टाटा सन्सको अध्यक्ष पदबाट हटाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell