बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले गुल्मी क्षेत्र नम्बर १ मा प्रदीपकुमार ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। एमाले निर्वाचन क्षेत्र नम्बर १ कमिटीको बैठकले ज्ञवालीलाई सर्वसम्मत उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको हो।
ज्ञवाली २०७४ सालमा पनि गुल्मी क्षेत्र नम्बर १ बाट विजयी सांसद हुन्। ज्ञवालीले २०६४ र २०५४ मा पनि गुल्मी २ बाट चुनाव जितेका थिए। २०७० सालमा भने यस क्षेत्रबाट चन्द्र भण्डारी विजयी भएका थिए। २०७४ मा माओवादीसँग चुनावी तालमेल गर्दा ज्ञवालीले ३७ हजार ८१४ मत प्राप्त गरी विजयी हुँदा भण्डारीले ३० हजार २५६ मत पाएका थिए।
त्यस्तै, गुल्मी क्षेत्र नम्बर २ मा भने गोकर्णराज विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ। एमाले क्षेत्र नम्बर २ को बैठकले विष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमलाई पनि उम्मेदवार बनाउन सिफारिस गरेको छ।
२०७४ सालको चुनावमा कांग्रेसका चन्द्र केसीलाई पराजित गरेर विष्ट गुल्मी २ बाट विजयी भएका थिए। उनले ३४ हजार ६ सय मत प्राप्त गरी विजयी हुँदा केसीले २० हजार १ सय मत पाएका थिए। २०६४ सालमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा (सागर)सँग थोरै मतान्तरले पराजित हुनुबाहेक विष्टले २०५६ सालदेखि निरन्तर यो क्षेत्रमा चुवाव जित्दै आएका छन्।
अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष हुन्। लामो समय एमाले गुल्मी–काठमाडौँ सम्पर्क मञ्चमा रहेका अर्याल अध्यक्ष भएर काम गरेका थिए। उनले केन्द्रीय प्रचार विभागमा रहेर पनि काम गरेका थिए। भने, गौतम एमाले गुल्मीका नेता हुन्।
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्वर २ को (क) मा गणेश श्रीपाली, डिल्लिराज भुसाल, सोमनाथ सापकोटा, सिता भण्डारी, प्रकाश काफ्लेको नाम सिफारिस भएको छ।
प्रदेश (ख) मा नेकपा एमाले केन्द्रीय सदस्य दिनेश पन्थी, जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेको एमाले गुल्मीले जनायो।