PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ महिला च्याम्पियनसिपले माहोल तातिँदै फुटबलको : कसको पोजिसन कस्तो, नेपाल र भारतको खेल के होला?



मुकुन्द घिमिरे

साफ महिला च्याम्पियनसिपले माहोल तातिँदै फुटबलको : कसको पोजिसन कस्तो, नेपाल र भारतको खेल के होला?

काठमाडौं : मंगलवारबाट काठमाडौंमा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ। प्रतियोगितामा सहभागी हुन सातवटै देशका टोली नेपाल आइपुगिसकेका छन्। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।  'लिग कम नकाउट' प्रणालीमा हुने प्रतियोगिताको समूह ए मा नेपाल, श्रीलंका र भुटान छन् भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन्। प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टिम सेमिफाइनल प्रवेश गर्नेछन्।

साफ गेम शुरु भएसँगै काठमाडौंमा फेरि फुटबलको माहोल बन्दैछ।

कुन टोली कस्तो?

भारत

समूह 'ए' मा रहेको भारत उपाधिको प्रबल दाबेदार हो। फिफा वरीयतामा दक्षिण एसियामा सबैभन्दा माथि रहेको भारत ५८ औं स्थानमा छ। भारतले सेप्टेम्बर ७ मा पाकिस्तान, १० मा माल्दिभ्स र १२ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। भारतीय टोलीले पछिल्लो वर्ष विश्व फुटबलका ठूला टोली ब्राजिललगायतका देशहरुसँग प्रतिस्पर्धा गर्दै राम्रो अनुभव बटुलिसकेको छ। घरेलु संरचनामा पनि अब्बल भारतले केही सिनियर खेलाडी र युवा खेलाडीको टिम नेपाल पठाएको छ। पछिल्लो समय फिफाबाट प्रतिबन्ध ब्यहोरेको भारत साफ च्याम्पियनसिप खेल्न आउनेनआउने अन्योलबीच भारतको तयारी भने छोटो छ। भारतले प्रतियोगिताका लागि पुणेमा तयारी गरेको थियो।

'खेलाडीहरू चुनौतिहरू बारे सचेत छन् र हामी बलियो प्रदर्शन गर्ने आशा गर्दछौं। सिनियर र युवाहरूको मिश्रणले हामीलाई लक्ष्य हासिल गर्न पक्कै मद्दत गर्नेछ,' मुख्य प्रशिक्षक सुरेन क्षेत्रीले भनेका छन्।

पछिल्लो साफमा (२०१९) भारतले माल्दिभ्समाथि ६-०, श्रीलंकामाथि ५-०, बंगलादेशमाथि ४-० र नेपालमाथि १-३ गोलअन्तरको जित निकाल्दै च्याम्पियन बनेको थियो।

२३ सदस्यीय भारतीय टोली

गोलकिपरः अदिती चौहान, मैबम लिन्थोइङ्गाम्बी देवी, सौमिया नारायणसामी

डिफेन्डरः स्वीटी देवी, रितु रानी, ​​आशालता देवी, रञ्जना चानु, मनिसा पन्ना, मिशेल कास्टान्हा, जुली किशन, सन्तोष

मिडफिल्डर: अन्जु तामाङ, प्रियंका देवी, मार्टिना थोकचोम, सन्ध्या रंगनाथन, कश्मिना, रतनबाला देवी

फरवार्ड: दुलार मरांडी, अपुर्णा नरजारी, सौम्या गुगुलोथ, रेणु, किरण पिस्दा, दाङमेई ग्रेस

मुख्य प्रशिक्षक: सुरेन क्षेत्री।

पाकिस्तान

भारतभन्दा अघि फिफाको प्रतिबन्धमा परेको दक्षिण एसियाली मुलुक हो पाकिस्तान। अझ पाकिस्तानी महिला फुटबल टोलीले ८ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कँदै छ। छोटो समयमा खेलाडी छनोटदेखि तयारीसम्म गर्न परेको पाकिस्तानी टोलीको जर्सीसमेत दुरुस्त क्रिकेटको जस्तो भएको भनेर पाकिस्तानी सञ्चारमाध्यममा चर्चा चलेको थियो

पाकिस्तानले कप्तानको जिम्मेवारी मारिया खानलाई दिएको छ। पाकिस्तानी मुलकी उनी अमेरिकामा हुर्किएकी थिइन् जहाँ युनिभर्सिटी स्तरमा गोलकिपर र मिडफिल्डरका रुपमा खेलेकी थिइन्। पछि उनी यूएईमा स्थानीय क्लबबाट खेलिरहँदा पाकिस्तानी टोलीले उनलाई बोलाएको थियो। पाकिस्तानको २३ खेलाडीमध्ये अघिल्लो खेल पाकिस्तानबाट खेलेका ७ खेलाडीबाहेक अन्य खेलाडी पहिलोपटक पाकिस्तानको जर्सी लगाउँदैछन्। त्यस्तै यूकेमा डोनकास्टर रोभर्स बेल्लेसमा खेल्दै आएकी नदीया खान पनि पाकिस्तानको टिममा छिन्। लिड्स युनाइटेडको रिजनल ट्यालेन्ट सेन्टरहुँदै उनी रोभर्स पुगेकी थिइन्।

पाकिस्तान फुटबल संघले दोहोरो नागरिकता/ राष्ट्रियता भएका खेलाडीलाई राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्न अगस्टमा खुला गरेको थियो। प्रतिबन्धबाट फुकुवा भएयता संघले अमेरिका, ग्रीस, यूके र यूएईका दर्जन बढी पाकिस्तानी मुलका खेलाडीले पाकिस्तानबाट खेल्न चासो देखाएका थिए। फिफाको नियमका हिसाबले दोहोरो नागरिकता भएका खेलाडीले या त होम टिमबाट या आफ्नो 'मुल' भएको देशको टिमबाट छनोट गर्न पाउँछ। 

बंगलादेश

पछिल्लो समय उमेर समूहको कुरा गर्दा बंगलादेशको महिला टोलीले अब्बल प्रदर्शन गर्दै आएको छ। फिफा वरीयतामा १४७ औं स्थानमा रहेको बंगलादेशले एएफसीका केही प्रतियोगिता र साफका उमेर समूहमा बंगलादेशी टोलीले आफ्नो क्षमता देखाइसकेको छ। तर, सिनियर टोलीले भने त्यसअनुसारको छाप छाड्न सकेको छैन। साफकै कुरा गर्दा बंगलादेशी सिनियर महिला टोलीले एकपटक मात्र फाइनलमा स्थान बनाउन सफल भएको छ। बंगलादेशले आफ्नो समूहमा भारत, माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पछिल्लो समय बंगलादेशी टोलीले राम्रो अनुभव प्राप्त गरेको प्रशिक्षक गोलाम रब्बाबी छोटोनको तर्क छ।

'हाम्रो सिनियर टोलीमा मारिया, मोनिका र अन्य धेरै खेलाडीहरूले यू-१८ प्रतियोगिता खेलेको धेरै भएको छैन। तर मलाई लाग्छ कि उनीहरूले धेरै अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन्, उनीहरू परिपक्व र सुधार भएका छन्। फिफा वरीयतामा हामीभन्दा अगाडि रहेको मलेसियालाई मैत्रीपूर्ण खेलमा पराजित गर्नु त्यो सुधारको प्रमाण थियो,' बंगलादेशी प्रशिक्षक छोटोनले नेपाल आउनुअघि भनेका थिए।

साफको इतिहास हेर्ने हो भने नेपाल र भारत बंगलादेशी टोलीका लागि टाउको दुखाइ बन्दै आएका छन्।

'हामीले विगत ६ सातादेखि कडा अभ्यास गरेका थियौं। तालिमका क्रममा जुनमा मलेसियाविरुद्ध भएका दुई मैत्रीपूर्ण खेलमा भएका गल्तीलाई सच्याउन काम गर्यौं। उनीहरू प्रतियोगिताका लागि तयार छन्,' प्रशिक्षक छोटोनले भनेका छन्। उनले आफ्नो पहिलो माल्दिभ्ससँगको खेलमा आफूहरु केन्द्रीत भएको भन्दै खेलपिच्छे अगाडि सोच्ने बताए।

बंगलादेशी कप्तान सबिना खातुनले यसअघिको प्रतियोगितामा भन्दा राम्रो प्रदर्शन गर्ने बताएकी थिइन्। छोटोनले आफ्नो अन्तिम २३ सदस्यीय टोलीको नाम फाइनल गर्नुअघि गर्नुअघि ३० खेलाडीलाई ६ हप्ताको प्रशिक्षण शिविरमा बोलाएका थिए जसमा तीन गोलकिपर, ६ डिफेन्डर, ६ मिडफिल्डर र आठ फरवार्ड थिए। जुनमा मलेसियाविरुद्ध घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेलेको बंगलादेशको अघिल्लो टोलीबाट बाहिरिएका गोलकिपर साथी विश्वासलाई टोलीमा बोलाइएको थियो

बंगलादेशमा सन् २०१९ को साफमा भुटानलाई २-० गोलअन्तरले हराएको थियो भने नेपालसँग ३-० र भारतसँग ४-० गोलको पराजय ब्यहोरेको थियो

भुटान

फिफा वरीयतामा १७६ औं स्थानमा रहेको भुटानी महिला टोलीको इतिहास पनि धेरै लामो छैन। सन् २००४ बाट आधिकारिक रुपमा सुरु भएको भुटानी फुटबलले दक्षिण एसियाली स्तरमा बलियो चुनौती प्रस्तुत गर्न सकेको छैन। यद्यपि पछिल्लो समय ग्रासरुटमा केन्द्रीत रहेको भुटानको टोली राम्रो बन्दै आएको बताइन्छ। भुटानमा ६ वटा महिला टिमले लिग खेलिरहेकोमा सन् २०२२ मा यो संख्या बढेर १० पुगेको थियो।

पछिल्लो साफको कुरा गर्दा भुटानले बंगलादेशसँग २-० र नेपालसँग ३-० को पराजय ब्यहोरेको थियो।

माल्दिभ्स

माल्दिभ्सले प्रतियोगितामा सेप्टेम्बर ७ मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै सेप्टेम्बर १० मा भारत र सेप्टेम्बर १३ मा पाकिस्तानको सामना गर्नेछ। अघिल्लो साफ च्याम्पियनसिपमा माल्दिभ्सले भारतसँग ६-० गोलअन्तर र श्रीलंकासँग २-० को पराजय ब्यहोरेको थियो। फिफा वरीयतामा १५६ औं स्थानमा रहेको माल्दिभ्सले पुरुषतर्फ साफ च्याम्पियनसिपमा राम्रो दाबेदारी प्रस्तुत गर्ने गरेको भए पनि महिलातर्फ भने फाइनलमा स्थान बनाउन सकेको छैन।

श्रीलंका

फिफा वरीयतामा १५३ औं स्थानमा रहेको श्रीलंकाले साफ च्याम्पियनसिपमा सेप्टेम्बर ९ मा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै दोस्रो खेलमा सेप्टेम्बर १२ मा नेपालसँग खेल्नेछ। साफ च्याम्पियनसिपमा श्रीलंकाले हालसम्म बलियो दाबेदारी प्रस्तुत गरेको छैन। अघिल्लो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई २-० ले हराएको श्रीलंकाले भारतसँग ५-० र नेपालसँग ४-० को पराजय ब्यहोरेको थियो।

नेपाल

यसपाला पनि साफ च्याम्पियनसिप आयोजना गर्ने अवसर नेपालले पाएको छ। महिला साफमा पटकपटक फाइनलमा पुगेर पनि च्याम्पियन बन्न नपाउनु नेपालको दुर्भाग्य बन्दै आएको छ। एकपटक बाहेक नेपालले सबै महिला साफको फाइनलको यात्रा तय गरेको छ। र, सबैमा फाइनल खेलमा भारतसँग पराजित बन्दै उपाधिबाट बञ्चित हुने गरेको छ। यसपटक फेरि पनि उपाधिको होडमा छ। फिफा वरीयतामा १०२ औं स्थानमा रहेको नेपालको नियमित कप्तान तथा प्लेमेकर रेनुका नगरकोटेलगायत खेलाडी चोटबाट गुज्रनुले नेपालको प्रदर्शनमा केही प्रभाव पर्ने देखिन्छ। यद्यपि उम्दा खेलाडी पनि आएका छन्।

प्रशिक्षक कुमार थापाले फेरि नेपाली टोली सम्हालेका छन् च्याम्पियन बनाउने लक्ष्य लिएर। नेपालको बलियो प्रतिस्पर्धीका रुपमा सदाबाहर भारत र बंगलादेश हुने देखिन्छ। समूह 'बी'  मा परेको नेपालसँग भुटान र श्रीलंका छन्। यसमा चाहीँ नेपाललाई केही राहत मिलेको छ। फेरि पनि नेपालको अगाडि तेर्सिने यक्ष प्रश्न उही छ: भारतसँगको खेल के होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell