
काठमाडौं : सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि आफ्नो दलभित्र र गठबन्धनभित्र लगातार छलफल चलाए पनि टुंगोमा भने पुग्न सकेको छैन। गत बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनपछि नै सिट बाँडफाँटको टुंगो लाग्ने बताएका थिए।
बालुवाटारमा छलफलपछि कार्कीले आइतवारसम्ममा सिट बाँडफाँट टुंगो लाग्ने बताएका थिए। 'अब दुई दिन दु:ख दिन्न। अब तेस्रो दिन पार्टीभित्र गृहकार्य गरेर बैठक बस्छ र फाइनल निर्णय हुन्छ,' बैठकपछि मन्त्री कार्कीले बताए।
सोही भनाईलाई शुक्रवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत पुगेर पुष्टि गरेका थिए। 'सिट बाँडफाँटबारे संख्या सहमतिको नजिक पुगिसकेका छौ,' प्रचण्डले भनेका थिए, 'भोलि दिनभर बसेर टुंग्याउने भनेर हामी हिजो उठेका हौं।'
यद्यपि दुई दिनपछि आइतवार बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन सकेन। बरु अघिल्लो बैठकमा झैं दुई दिन भाका सारे। बैठकपछि दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
यसै विषयमा छलफल गर्न गठबन्धनको कार्यदलको बैठक सोमबार दिउँसो १ बजे पनि बस्दैछ। दुई दिन लगातार बैठक बसी सहमतिका साथ सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने कार्कीको भनाई थियो।
सत्तारुढ गठबन्धन दलले निर्वाचन क्षेत्र र प्रदेश सभा क्षेत्र नै तोकेर सिट बाँडफाँट गर्ने तयारी गरेको बताइएको छ। दलहरु क्षेत्र र प्रदेश नै तोकेर अन्तिम टुंगोमा पुग्ने तयारीमा लागेको माओवादी अध्यक्ष प्रचण्डको भनाई छ। यद्यपि संख्यामै दलहरुको कुरा मिल्न सकेको छैन।
विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए।
बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको आइतवारको बैठकपछि मन्त्री कार्कीले बताए। सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनको भनाई रह्यो।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको आइतवारको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागिता थियो।
कति समय लाग्ला टुंगोमा पुग्न?
निर्वाचन आयोगले असोज २ र ३ गते राजनीतिक दलले बन्दसूची पेश गर्नुपर्ने समयसीमा दिएको छ। त्यसअघि दलहरुले प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाउन छाँट देखाएको छैन।
पाँच दलभित्र कुन क्षेत्र कसले लिने भन्ने विषयमा मारमुङ्री हुने देखिएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकै जिल्ला डडेल्धुरामा तालमेल नगर्ने त्यहाँको कांग्रेसले निर्णय गरेको छ। यद्यपि यो केन्द्रको आधिकारिक धारणा नभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत बताउँछन्। 'यो कार्यकर्ताको भनाइ हो पार्टीको आधिकारिक धारणा होइन। यो ठाउँ लिने ठाउँ हो भनेर उहाँहरुले राख्नुभएको कुरा हो। जसको आधार छ त्यहीँ लड्ने हो,' उनले भने।
सिन्धुपाल्चोकमा कांग्रेस नेता मोहन बस्नेत कसैगरी क्षेत्र नम्बर १ नछाड्ने अडानमा छन्। यसअघि उक्त क्षेत्र सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित भएका हुन्। गठबन्धनले पहिले जुन पार्टीले जितेको उसैलाई छाडेमा उक्त क्षेत्र माओवादीलाई पर्ने देखिन्छ। यसो गर्दा कांग्रेसलाई मार पर्ने तर्क गर्दै बस्नेतले माओवादीलाई छाड्नै नसकिने बताउँदै आएका छन्।
यस्तै विषयमा अल्झिँदा गठबन्धनलाई सिट बाँडफाँट टुंगोमा पुर्याउन मुश्किल भइरहेको बताइएको छ। यता कांग्रेस प्रवक्ता महतले भने गठबन्धनमा रहेका दलहरुले बढी सिट मागिरहेको तर्फ इंगित गर्दै गाह्रो भए पनि सिट बाँडफाँट गरिने बताए।
'अंक गणित सुनिश्चित गर्ने आइडियाले गठबन्धन अघि बढाएका छौं,' आइतवार सञ्चारकर्मीसँग महतले भने, 'यथार्थ धरातलमा उभिएर सिट मिलाउन समय लागेको हो। हाम्रो यति नै भन्ने सिट संख्या छैन। अरु दलले पनि बढी नै मागेका छन्। सबैले स्वभाविक माग्नुपर्छ। कठिन छ तर टुंग्याउछौं।'