
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले)को क्षेत्रीय कमिटीहरुले कास्कीमा उम्मेदवार सिफारिस गरेका छन्।
एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतवार प्रतिनिधिसभा सदस्यका लागि आकांक्षीहरुको नाम सिफारिस गरेका छ। एमालेले गत शनिवार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट ९ जना गरि २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिए। एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस भएका छन्।
यसैगरी, विद्या भट्टराई अधिकारी क्षेत्र नम्बर २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस भएको एमालेले जनाएको छ।
क्षेत्र नम्बर १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस भएका छन्।
क्षेत्र नम्बर २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएका छन्। क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ।